यूएनको इन्जिनियर हुँ भन्ने युवाले पाँच जनाबाट यसरी ठगे १८ लाख

कास्कीमा एक युवाले यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूलाई ठगेका छन्। पाँच जनाबाट उनले १८ लाख ८५ हजार रुपैयाँ ठगी गरेको कास्की प्रहरीले जनाएको छ। आफूलाई यूएनको इन्जिनियर र राष्ट्र बैंकको जागिरे बताउने डोटीको तोलेनीका २६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

ठगी गरेर फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पक्राउ गरिको जनाएको छ।

उनलाई मंगलबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ।

गत पुस १८ गते उनले पोखरा महानगरपालिका २३ चापाकोटका विनोद विकलाई भेटे। उनले त्यतिबेला आफ्नो नाम मनोज मल्ल र पेसा यूएनको इन्जिनियर बताएका थिए। उनले हरेक व्यक्तिलाई फरकफरक नाम बताउने गरेको खुलेको छ। विनोद ट्याक्सी चालक हुन्।

उनले विनोदलाई होटल खोज्न भने। विनोदले चिनजानको होटलमा बस्ने व्यवस्था गरे।

भोलिपल्ट उनले पोखरा बाहिर जानु प¥यो भन्दै फोन गरे। बुबा र अंकल यूएनको जागिरे रहेको र काठमाडौँ र पोखराका लागि कर्मचारी माग भएको सुनाए। तलब ४८ हजार ९ सय २८ रुपैयाँ हुन्छ भनेका थिए।

विनोद उक्त जागिरको प्रलोभनमा परे। नेपाल इन्भेस्टमेन्ट बैंकमा खाता खोले। नागरिकता, लाइसेन्स, पासपोर्ट र एसएलसीको प्रमाणपत्र पेस गरे। स्टेटमेन्टमा देखाउनका लागि २० लाख रुपैयाँ पुर्याउनुपर्ने दिनेशले बताएका थिए।

विनोदले १९ लाख ७५ हजार रुपैयाँ डिपोजिट गरे। ३० हजार रुपैयाँ नगद नै दिए। विनोद बिकले आफ्नो नाममा सिम निकालेर पनि दिनेशलाई दिए।

उनको दोश्रो निसानामा परे होमबहादुर नेपाली। होमबहादुरसँग विनोदले नै भेट गराइदिएका थिए। होमबहादुरलाई बुटवल र चितवनको लागि पनि कर्मचारी आवश्यक रहेको बताइएको थियो। होमबहादुरले पनि निवेदन दिए। होमबहादुरसँग खोपकार्ड थिएन। पीसीआर गर्नका लागि भरतपुर लगे।

उनले पनि विनोदले जस्तै सिद्धार्थ बैंकमा खाता खोले। उनले पीसीआर गरे। कपाल लामो थियो। कपाल पनि काट्न लगाए।
पुस २१ गते फर्किनको लागि पैसा डिपोजिट गर्न लगाए। होमबहादुरले ४ लाख रुपैयाँ डिपोजिट गरे। होमबहादुरको हस्ताक्षर भएको चेक लगे। होमबहादुरलाई पासपोर्ट लिन पठाए। होमबहादुर पासपोर्ट लिन गएको समयमा उनले पैसा निकाले। उनलाई नियुक्तिको लागि बुटवल जानु पर्ने भनेका थिए।

पुस २२ गते राति होमबहादुर बुटवल पुगे। उनलाई भोलि ट्रायल दिनुपर्ने भनिएको थियो। त्यो रात होटलमै बसे।

भोलिपल्ट ट्रायल दिनु परेन। उनले त्यसका लागि आफूले वातावरण मिलाउने बताए। त्यसपछि होमबहादुर र विनोदलाई जाँदै गर भनेर पठाइदिए। आफू नियुक्ति पत्र लिएर कार्यालयको गाडीमा आउने बताए।

पुस २६ गतेबाट तालिम हुन्छ भनेका थिए। तर २५ गतेबाट दिनेशको अफ भयो।

उनले यस्तै बहाना बनाएर अरुलाई पनि ठगेको पाइएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन्। माघ ५ गते पोखरा महानगरपालिका २४ कास्कीकोटका २४ वर्षीय बुद्धिप्रसाद अधिकारीको ३ लाख ५० हजार रुपैयाँ ठगेको खुलेको छ।

यस्तै स्याङ्जाका ४२ वर्षीय युके गुरुङलाई यसैगरी जागिर दिलाइदिन्छु भनेर ठगेको पाइएको छ। उनले आफ्नो ६ लाख रुपैयाँ लगेको प्रहरीलाई बताएका छन्।

पोखराकै ५६ वर्षीय युवराज पौडेललाई भने उनले छोरालाई जागिरमा लगाइदिन्छु भनेर ठगेका थिए। पौडेलका छोरालाई युएनको सुपरभाइजरमा जागिर लगाइदिने बताउँदै ५ लाख ९० हजार रुपैयाँ लगेको खुलेको छ। उनी माघ २० गते ठगिएको एसपी थापाले बताए।

उनले यसअघि पनि विभिन्न जिल्लामा ठगी गरेको खुलेको छ। मकवानपुर, चितवन, ललितपुर, काठमाडौं, बाजुरा, धनगढी लगायत जिल्लामा यसअघि पनि उनीविरुद्ध मुद्दा रहेको प्रहरीले जनाएको छ। उनले ठगी गर्ने क्रममा सुरुमा विश्वासमा पार्न कपडा किनिदिने, खाने बस्ने व्यवस्था मिलाइदिने पनि गर्थे।

ठगी सकेपछि सिम परिवर्तन गर्ने र सम्पर्कविहीन हुने गरेको देखिएको छ।

उनले ठगेको प्राय व्यक्ति ट्याक्सी चालक र निजी गाडीका ड्राइभर रहेको देखिएको छ।

उनीविरुद्ध ७ दिन म्याद लिएर प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ। ठगीको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै बिगो बराबरको क्षतिपूर्ति पनि भराउने कानुनी व्यवस्था छ।

उनको साथबाट प्रहरीले विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा हालसम्म ठगिएका भन्दै ७४ वटा जाहेरी परेका छन्।

Leave a comment

Your email address will not be published.