एमसीसी विवाद : सत्ता गठबन्धनका दलबीच ‘निर्णायक’ बैठकअघि देउवा–प्रचण्ड भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ। एमसीसीबारे आज गठबन्धनका दलबीच ‘निर्णायक’ वार्ता हुनुअघि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो।

यो खबर लेख्दासम्म प्रधानमन्त्रीको निवास (बालुवाटार) मा भेटवार्ता जारी रहेकाे स्राेतले जानकारी दिएकाे छ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आजै (बिहीबार) ‘निर्णायक’ छलफल हुँदै छ।

हिजो बुधबारकै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरिछाड्ने योजनामा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रलगायत गठबन्धनमै रहेका दलले विरोध गरेपछि सफल हुन सकेनन्।

यसबीच नेकपा माओवादी केन्द्रले त एमसीसी जबर्जस्ती संसदमा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा) समेत एमसीसी संशोधन नगरी संसदमा पेस गर्न नहुने पक्षमा उभिएका छन्। राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसी खारेजै हुनुपर्छ भनिरहेको छ।

यसले गर्दा अहिले सत्ता गठबन्धनका पाँच दलमध्ये एमसीसी पास गरिहाल्नुपर्छ भन्ने पक्षमा कांग्रेस एक्लो देखिएकाे छ। यसैकारण प्रधानमन्त्री देउवाले आज गठबन्धनका दलसँग निर्णायक छलफल गर्ने भएका हुन्।

आज दिउँसो सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै छ। कांग्रेसका एक नेताका शब्दमा त्यो बैठक ‘निर्णायक’ हुनेछ।
माओवादी केन्द्रले आफ्ना नेताहरुलाई बिहीबार (आज) बस्ने गठबन्धनको बैठक अन्तिम हुने र कुनै पनि बेला सरकार छाड्ने निर्णय हुनसक्ने भएकाले तयारी रहन सन्देश दिएको छ।

एमसीसी सम्झौतालाई सदनमा टेबल गर्ने कुराबाट कांग्रेस पछि नहटे आफ्नो पार्टी सरकारबाट बाहिरिने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

यसैबीच आजको गठबन्धन बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी नहुने उनी निकट एक नेताले दाबी गरेका छन्। जसपाले पनि एमसीसीका विषयमा बुधबारदेखि एकाएक आफ्नो धारणा परिवर्तन गरेको हो।

तर जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसी अनुमोदन गरिहाल्नुपर्ने पक्षमा देखिएका छन्।

Leave a comment

Your email address will not be published.