नक्कली शैक्षिक प्रमाणपत्रमा हरि खड्का दोषी, ५ हजार जरिवाना

नेपालका चर्चित फुटबलर हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको मुद्दामा दोषी ठहर भएका छन्। खड्कालाई अख्तियारले चलाएको भ्रष्टाचार मुद्दामा खड्कालाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार दीपेन्द्रनाथ योगीले नेपालखबरलाई बताए।

विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गर्दै फैसला दिएको हो। नेपाल प्रहरीको नायव निरीक्षक हुँदा पदबाट राजीनामा दिएर बाहिरिएका खड्काविरुद्ध अख्तियारले गत माघ १२ गते मुद्दा दर्ता गरेको थियो।

खड्का उक्त मुद्दाका क्रममा पुर्पक्षका लागि बिहीबारै अदालतमा उपस्थित भएका थिए। अदालतले पहिलो सुनुवाइमै फैसला दिँदै विशेषले दोषी ठहर गरेर ५ हजार जरिवाना सुनाएको हो।

खड्का २०५३ मंसिर १४ गते तत्कालीन मध्य क्षेत्रीय तालिम केन्द्र चितवनबाट जवानमा भर्ना भएका थिए। उनले त्यतिबेलै शैक्षिक योग्यता महलमा आइए भन्ने उल्लेख गरेको खुलेको थियो।

२०५५ कात्तिक १ गते असईमा भर्ना हुँदा आइएको माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश वाराणसीबाट उत्तीर्ण गरेको प्रमाण पत्र पेस गरेका थिए।

सोही प्रमाण पत्र पेस गरेर असईमा भर्ना भएका खड्का २०५९ पुस १४ गते सईमा बढुवा भएका थिए। प्रहरी सेवाको १९ वर्ष पुगेपछि पेन्सन भइसकेका खड्काले २०७२ असार २२ गते घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। सोही असार ३१ गतेबाट लागू हुनेगरी प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृत गरेको थियो। ​

खड्काले आफ्नो प्रमाण पत्रबारे प्रश्न उठ्न थालेपछि राजीनामा दिएका थिए। उनी प्रहरी निरीक्षकमा बढुवाको नजिक भए पनि राजीनामा दिनुलाई सोही कारण भएको अनुमान प्रहरीहरुकै थियो।

उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले उनका प्रमाण पत्र छानबिन थालेको थियो। अख्तियारले उनले प्रमाण पत्र पेस गरेको भारतको विद्यालयमा समेत पत्राचार गरेको थियो विद्यालयले खड्काले पेस गरेको ९०३६७९ नम्बरको प्रमाण पत्रबारे विवरण अपुष्ट भन्दै जवाफ लेखेको छ।

यस्तै प्रहरी प्रधान कार्यालयसँग पनि खड्काका प्रमाण पत्रबारे अख्तियारले पत्र पठाएको थियो। प्रहरी प्रधान कार्यालयले खड्काले भर्ती हुने बेलामा पेस गरेको विवरण र सबै कागजातका प्रतिलिपि अख्तियारलाई उपलब्ध गराएको थियो।

यस्तै अख्तियारले खड्कासँग पनि सोधपुछ गरेको थियो। सोधपुछमा खड्काले आफ्नो कोठामा आगलागी भएको बताएपछि आगलागी भएको मुचुल्का र सन् १९९५ को प्रवेश पत्र पेस गर्न पत्राचार गरेको थियो।

जवाफमा खड्काले आगलागी हुँदा प्रहरी मुचुल्का नगरेको भन्दै प्रहरी मुचुल्का उपलब्ध गराउन नसक्ने बताएका थिए। प्रवेश पत्र पनि त्यतिबेलै जल्यो वा हरायो भयो एकिनसाथ ठम्याउन सकिनँ भन्दै पत्रको लिखित जवाफ दिएका थिए।

Leave a comment

Your email address will not be published.