एमसीसीमा कुरा नमिले पनि टुटेन गठबन्धन, शुक्रबार फेरि बैठक

अमेरिकी सहयोग नियोग (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुटाउन बिहीबार साँझ आयोजित पाँच दलीय गठबन्धनको बैठक छलफललाई निरन्तरता दिनेगरी सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटर) मा आयोजित सत्ता गठबन्धनका शीर्ष नेताबीच कुरा नमिलेपछि बैठक शुक्रबार बिहान फेरि छलफल गर्नेगरी बैठक सकिएकाे बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी टेबल गर्ने तथा अन्य दल संसद् खुल्नुपर्ने अडानमा रहे। यसअघि गठबन्धनका नेताहरूले आजको बैठक ‘निर्णायक’ हुने तथा गठबन्धन टुट्नेसम्मको कुरा गरे पनि त्यस्तो भने भएन।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर रुपले छलफल गरिएकाे जानकारी दिए।

‘गम्भीर रुपले आज मुलुकको विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ। संसदलाई कसरी अगाडि बढाउने, एमसीसीलाई सार्वभौम संसदलाई छलफल गरेर कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा गम्भीरताका साथ छलफल भयाे’, बैठकपछि उनले भने।

उनले शुक्रबार बिहान १० बजे फेरि गठबन्धनकाे बैठक बस्ने जानकारी पनि दिए। ‘भोलि १० बजे यो बैठक फेरि जारी रहन्छ र थप निर्णय हुन्छ’, मन्त्री कार्कीले भने।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि शुक्रबार बिहान फेरि बैठक बस्ने जानकारी दिए।

एमसीसी संसदमा टेबल गर्नका लागि सहमति जुटाउन बालुवाटारमा बैठक बसेको थियो।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको समझदारीअनुसार बैठक बिहीबार अपराह्न ५ बजे सुरु भएको थियो। यसअघि दिउँसो ३ बजे नै बैठक बस्ने भनिएकाे थियाे।

तर बुधबार बेलुकी अमेरिकी राजदूत र्यान्डी बेरी र प्रधानमन्त्री देउवाबीच भएको भेटपछि बिहीबार बिहान देउवा र प्रचण्डबीच भेटवार्ता भएकाे थियाे। त्यसपछि गठबन्धनकाे बैठक २ घण्टा पछि सारिएको थियो।

Leave a comment

Your email address will not be published.