विद्यालयको सूचना प्रविधि प्रयोगशालामा आगजनी, २४ वटा कम्प्युटर जले

सर्लाहीको बसबरिया गाउँपालिका–४ धनगढास्थित पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले आगजनी गरेको छ।

शनिबार राति ढोकाको ताल्चा फुटाएर भित्र प्रवेशगरी प्रयोगशालामा आगजनी गरिएको हो। आगजनीबाट २४ वटा कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।

ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेकोे छ । आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ।

यसअघि २०७० सालमा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो । साथै एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत गरिएको छ। विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नदेखाउँदा आगजनी र चोरीका घटना भएको स्थानीयवासीको आरोप छ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक नरेन्द्रकुमार मैरवैताले जानकारी दिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दुई वर्षअघि सो विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरिएको थियो।

त्यतिबेला प्रयोगशाला स्थापनाका लागि २४ कम्प्युटरलगायत आवश्यक उपकरणका साथै विभिन्न सामग्री विद्यालयाई हस्तातरण गरिएको थियो।

Leave a comment

Your email address will not be published.