फुटबल मैदान मास्ने षडयन्त्र, स्थानीयद्वारा प्रतिकार

काठमाडौं । काठमाडौंको वडा नम्बर ३२ स्थित पेप्सीकोलाको फुटबल मैदान त्यस क्षेत्रको चिनारी हो । नगर विकास समितिले प्लटिङ गरेर बसाएको व्यवस्थित बस्तीको बीचमा रहेको एक मात्र फुटबल मैदान भत्काएर पार्क बनाउने चर्चापछि स्थानीय युवा आक्रोशित भएका छन् ।


नगर विकास समितिले त्यो क्षेत्रको प्लटिङ गर्नुअघि बीचमा खेल मैदान राख्ने प्रस्तावलाई स्वीकार्दै स्थानीयले जग्गा उपलब्ध गराएका थिए । तर, आफूले जुन प्रयोजनका लागि जग्गा दिएको हो, त्यो प्रयोजन नै फेरिने भएपछि स्थानीय युवाहरू आक्रोशित छन् ।

विगत केही समयदेखि त्यहीँको नगर सेवा समितिले त्यौ मैदानलाई पार्कमा परिणत गर्ने लबिङ सुरु गरिसकेको छ । यसै क्रममा शनिबार परेको प्रजातन्त्र दिवसमा गृहमन्त्री बालकृष्ण खाँडको हातबाट शिलान्यास गराएर त्यसलाई औपचारिक सुरुआत दिने तयारी नगर सेवा समितिको थियो ।

त्यसैअनुसार सबै तयारी पनि गरिएको थियो । शुक्रबार राति नै शनिबार हुने शिलान्यासका लागि डोजर लगाएर खाल्डो पनि खनिएको थियो । तर, स्थानीय युवा र ०६३ देखि मैदानको संरक्षण गर्दै आएको प्लानिङ ब्वाइज क्लबका सरोकारवालाले त्यसलाई सफल हुन दिएनन् ।

प्लटिङको समयमा खेल मैदान निर्माण भनिए पनि काम अगाडि नबढ्दा फोहोरको ढँगुर थुप्रिने र ड्राइभिङ सिक्ने ठाउँ बनेपछि स्थानीयले त्यो मैदान प्लानिङ ब्वाइजलाई संरक्षणको जिम्मेवारी दिएका थिए । त्यसयता विभिन्न स्रोतबाट बजेट जुटाएर क्लबले मैदान निर्माणलाई निरन्तरता दिँदै आएको प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामा बताउँछन् ।

‘०६३ सालदेखि यो मैदानको संरक्षण र पुनः निर्माण प्लानिङ ब्वाइज क्लबले नै गरिरहेको छ,’ अध्यक्ष लामा भन्छन्, ‘तर, पछिल्लो समय केही सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि यतिका वर्षसम्म हामीले संरक्षण गरेको मैदान मास्ने षडयन्त्र भइरहेको छ ।’

केही समयअघि दुवै पक्षबीच फुुटबल मैदान बनाउने र बाँकी ठाउँमा व्यायाम र मर्निङ वाकका लागि व्यवस्था मिलाउने सहमति भएको थियो । तर, त्यो सहमतिलाई लत्याएर नगर सेवा समितिले आफ्नो स्वार्थ पूरा गर्न खोजेको अध्यक्ष लामाको आरोप छ ।

नगर सेवा समितिको नाममा सीमित व्यक्तिको स्वार्थ पूरा गर्न संगठित समूहले त्यसमाथि गिद्धे नजर लगाएको लामाको आरोप छ । विशेष गरी नगर सेवा समिति मैदान भत्काएर पार्क निर्माण गर्ने पक्षमा उभिएको र स्थानीय युवा खेल मैदानलाई निरन्तरा दिनुपर्नेमा अडिग छन् ।

हामी यहाँ बीचमा खेल मैदान छ भनेरै जग्गा किनेर बसेका हौं, तर, अहिले आएर केही व्यक्तिले पावर र पहुँचको भरमा यसलाई भत्काउने योजना बनाइरहेका छन्,’ स्थानीय राज सापकोटा भन्छन्, ‘त्यसलाई हामी कदापी सफल हुन दिँदैनौं ।’

नगर सेवा समितिले स्थानीयको आँखा छलेर कसैलाई थाहा नदिई मनोमानी ढङ्गले मैदानमा आफ्नो अधिकार जमाउन खोजेकाले पनि स्थानीय आक्रोशित बनेको वडा नम्बर ३२ का पूर्व वडाध्यक्ष नवराज विष्ट बताउँछन् ।

‘म यहीँको स्थानीय हुँ, पहिलेको वडाध्यक्ष पनि हुँ र मलाई भलिभाँती थाहा छ, यो खेल मैदान भनेर नै हामीले जग्गा दिएका थियौं । मैदान वरीपरीका स्थानीयले दिएको जग्गामा बनेको यो हाम्रो सम्पत्ति हो,’ नगर विकाश समिति सदस्यसमेत रहेका विष्ट भन्छन्, ‘पार्कको खाँचो पनि देखिँदैन । यहाँबाट मुस्किलले पाँच मिनेटको दूरीमा चार÷पाँच वटा पार्क छन् । यौ मैदानलाई मासेर पार्क बनाउनुको कुनै अर्थ छैन ।’

केही समयअघि मैदान र व्यायाम स्थल बनाउने विषयमा सहमति गरेर वडाध्यक्षसामू नै लड्डुसमेत खाएको उनी बताउँछन् ।

तर, फेरि कसैसँग सल्लाह नगरी मैदानको बीचमा खाल्डो खनेर के गर्न चाहेको हो ? त्यो बुुझिसक्नु छैन,’ उनले भने, ‘०६३ सालदेखि मैदान रहँदै आएको यो स्थानमा धेरै पटक मर्मत, दुबो रोप्ने काम, वरीपरी विरुवा रोप्ने काम सांसद विकास कोषको बजेटबाट पनि भएको छ । तर, अहिले आएर त्यसलाई भत्काएर पार्क बनाउने सोच्नुमा मात्र पनि अचम्म देख्छु ।’

प्लानिङ ब्वाइजले सांसद विकास कोषकै बजेट खर्च गरेर ०७६ सालमा खेल मैदानमा दुबो रोपेको थियो । र, त्यो मैदानमा विद्यालय स्तरका खेलहरू लगातार आयोजना हुँदै आएका छन् । वडा नम्बर ३२ मा हुने प्राय फुटबल प्रतियोगिताको आयोजना स्थलसमेत रहेको त्यो मैदानको विषयमा दुवैतर्फलाई राखेर छलफलको जिम्मेवारी प्रहरी प्रशासनले पाएको छ ।

‘हिजो खाल्डो खनिएको थियो, त्यस क्रममा स्थानीयले रोक्नु भयो,’ शनिबार बिहान मैदान क्षेत्रमा खटिएका प्रहरी इन्सपेक्टर अनिल पण्डितले भने, ‘अहिले त्यसलाई रोकेर पाँच दिन भित्र दुवै पक्षसँग वार्ता गरेर काम अगाडि बढाउने आदेश भएको छ ।’

शनिबार बिहानसम्म दिउँसो शिलान्यासका लागि आयोजित कार्यक्रम स्थगित भएको थिएन । र एक्कासी स्थगित गरिएपछि स्थानीयको हस्तक्षेप आंकलन गरेर त्यो निर्णय लिइएको हुन सक्ने स्थानीयको बुझाई छ । यसको केही दिन अगाडि मैदानमा निर्माण जन्य क्रियाकलाप हुन थालेपछि प्लानिङ ब्वाइजले नगर सेवा समितिलाई छलफलका लागि बोलाउँदा कोही नआएको अध्यक्ष लामाले बताए ।

Leave a comment

Your email address will not be published.