सरकारले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने

सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ। पूर्ण खोप लिएर ६ महिना पुगेका १८ वर्ष र त्समाथि उमेरका सबै वयस्कलाई बुस्टर लगाउन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोभ्यासअन्तर्गत अनुदानमा प्राप्त हुने फाइजरको ९२ लाख डोज खोप बुस्टरका रूपमा लगाउन थालिएको सेवास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए।

सरकारले हाल दैनिक लगाइने खोपमध्ये करिब एक तिहाइ बुस्टर डोजको रुपमा लगाइरहेको छ।

१८ वर्ष पूरा भएकालाई उपलब्ध भए पहिले लगाइएकै खोप, नभए कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जान्सेन, फाइजर लगायतका खोपलाई बुस्टरको रूपमा लगाइने दाहालले बताए।

हालसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप नेपालमा लगाइएको छ। सरकारले कोभिसिल्ड, अस्ट्राजेनेका र एमआरएनए खोप लिएकालाई बुस्टरका रूपमा भेरोसेल लगाउन अनुमति दिएको छैन।

भेरोसेल लगाएकाले भने बुस्टरका रूपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना र फाइजर लगाउन सक्ने सरकारले जनाएको छ। खोप लगाउन जाँदा पूर्ण खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ।

नेपालमा खोप अभियान सुरु भएयता ३ करोड ७१ लाख २१ हजार १ सय ९६ डोज खोप लगाइसकेका छन्। अहिलेसम्म नेपालमा १ करोड ७७ लाख ८६ हजार १ सय ३३ जनाले पूर्ण र २ करोड १४ लाख १२ हजार ९ सय ८६ जनाले एक डोज खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले खोप अभियान तीव्र बनाएपछि नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएको छ। बुधबार देशभर ३१२ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

८ हजार ६९३ जनाको कोरोना परीक्षण गर्दा ३१२ संख्यामा संक्रमित थपिएका हुन्।

५ हजार १०३ जनाको पिसिआर गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो। बधुबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a comment

Your email address will not be published.