युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा १३ वर्षमा ११ अर्ब लगानी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ बर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ। कोषले स्थापना कालदेखि २०७८ को पौषसम्ममा कुल १३ हजार ७ सय ६५ जनालाई ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो।

शुक्रबार कोषको १३ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले हालसम्म विपन्न वर्ग कर्जामा कुल ३ अर्ब ८२ करोड २ लाख ८३ हजार २ सय ६६ रुपैयाँ लगानी भएको जानकारी दिए। उनले कोषले १ हजार ९ सय ६८ सहकारी तथा २६ बैङ्क तथा वित्तीय संस्थामार्फत लगानी गरी ८३ हजार ४ सय ९ जना स्वरोजगार सृजना गरेको पनि जानकारी दिए।

यस्तै, ४२ हजार ५ सय ६३ जनालाई अभिमुखीकरण तालीम दिएको, ५ हजार ८० जनालाई अनुशिक्षण तालिम दिएका पनि जानकारी दिए।

यसका साथै, १३ हजार ७ सय ६५ जनालाई ब्याज अनुदान वितरण गरेकामा १५ करोड ३३ लाख ५ हजार ४९ रुपैयाँ व्याज अनुदान भुक्तानी भएको पनि बताए। नियमित रूपमा सावाँ ब्याज भुक्तानी गर्ने व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ।

कोषका कार्यकारी निर्देशक अधिकारीले ३८ हजार १ सय ३९ जनालाई वितरण गरिएको कर्जा व्यवस्थापन शुल्कबाट एक करोड ९० लाख ६९ हजार ५ सय रुपैयाँ भुक्तानी भएको र १ हजार ६१ जनालाई ६ करोड २४ लाख ४८ हजार ५ सय ४५ रुपैयाँ बीमा क्षतिपुर्ति उपलब्ध गराएको पनि जानकारी दिए।

कार्यक्रममा कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) ले सरकारका विभिन्न निकायले प्रदान गर्दै आएको यस्ता कोषलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको छातामुनि राखेर कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताए।

उनले कोषका साथै बैंक तथा वित्तिय संस्था, सरकारका अन्य कोष, प्रदेश र स्थानीय सरकारबाट पनि स्वरोजगार क्षेत्रमा काम भएपनि कर्जा र ब्याजदरको सिमामा एकरुपता नभएको बताए।

उनले कर्जा र ब्याजदरको सिमामा एकरुपता गर्न पनि अनुदानलाई बन्द गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोषका माध्यमबाट यस्तो कर्जा वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताए।

बेरोजगार युवाहरुलाई स्वरोजगारका अवसर सृजना गर्ने भन्दै २०६५ सालमा स्थापना कोषले पुँजीको अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीहरुलाई बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ।

Leave a comment

Your email address will not be published.