प्रहरीको नियन्त्रणमा युवकको मृत्यु, सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

प्रहरीले नियन्त्रणमा लिएका एक युवकको मृत्यु भएपछि शनिबार सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालयसहित सरकारी कार्यालयहरूमा ढुंगामुढा गरेका छन्।

शुक्रबार राति बाँकेको नेपालगन्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का मिनी हमाल भनेर चिनिने ३२ कृष्ण हमालको मृत्यु भएको हो।

ट्रकमा रहेका हमालसहित ट्रक चालक र सहचालकलाई रक्सी खाएको भन्दै वीरेन्द्रनगरको सुब्बाकुनाबाट सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो। तीमध्ये हमालको मृत्यु भएको हो।

प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आफन्तको आरोप छ। उनलाई सुर्खेत अस्पतालले शनिबार बिहान १० बजे मृत घोषणा गरेको हो।

यसपछि उनका आफन्तले वीरेन्द्रनगरका मंगलगढी र यरीचोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

यसैबीच घटना छानबिनका लागि चारसदस्यीय समिति गठन गरिएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको हो। समितिलाई छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

Leave a comment

Your email address will not be published.