सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन जना पक्राउ

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले १ सय ३५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका ४ बस्ने १९ वर्षीय प्रदिप पोख्रेल छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका निज पोख्रेललाई सशस्त्र प्रहरी बल नेपाल बीओपी अलौबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला पारेको हो।

यसैगरी सोही जिल्लाको ठोरी गाउँपालिका २ सिकारीबास खोलास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करीव ५ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २९ वर्षीय संदिप पट्टेल र २५ वर्षीय प्रेम पट्टेल छन्।

बीआर ०७ यू ५८७३ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी ब्रम्हनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो। त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बेल्दारीबाट खटिएको सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका ४ इनर्वास्थित सीमा इलाकाबाट फागुन २१ गते करीव १० केजी गाँजा बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई बरामद लागुऔषध, गाँजा तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

Leave a comment

Your email address will not be published.