रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष विष्णु शर्माको निधन

जनवादी कलाकार तथा रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष विष्णु शर्माको ३२ वर्षको उमेरमा निधन भएको छ।

शर्माको मंगलबार राजधानीको सीएमसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

उनलाई जण्डिसको समस्या देखिएपछि उपचारका लागि पहिला शिक्षण अस्पताल र त्यहाँबाट सीएमसीमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको रक्तिम सांस्कृतिक अभियानले जनाएको छ।

शर्माको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शर्माको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए।

यस्तै, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, जनवादी गायक जीवन शर्मा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेल, नेता आनन्द शर्मा लगायत नेता कार्यकर्ताले मृतक शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

अन्त्येष्टिअघि गरिएको शोकसभामा रक्तिमका अध्यक्ष रेम रानाले जनसांस्कृतिक आन्दोलनले एउटा भरपर्दो सहकर्मी गुमाएको बताए।

शर्मा नृत्य तथा अभिनय कलामा अब्बल मानिन्थे।

Leave a comment

Your email address will not be published.