‘पिर’ गीतको भिडिओ तत्काल युट्युबबाट हटाउन प्रकाश सपुतलाई चेतावनी

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा परेको छ। जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ।

तर यो गीत तुरुन्त युट्युबबाट हटाउन नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले चेतावनी दिएको छ।

अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाकिज सञ्जालमा स्टाटस लेख्दै गायक सपुतलाई तत्काल युट्युबबाट गीत हटाउन चेतावनी दिएकी हुन्।

‘महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठाबाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ। सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन।

कतिपय प्रयत्नहरू सफल हुन सकेका छैनन्’, उनले लेखेकी छन्, ‘व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपुतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडिओ आपत्तिजनक र निन्दनीय छ।’

Leave a comment

Your email address will not be published.