विकट गाउँमा डिप बोरिङबाट घरघरमा धारा

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ पोखराचौरस्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ। सो पानी यहाँका १७ घरमा वितरण गरिएको छ। विष्टपानी नाम भए पनि यो गाउँमा पानीको चरम अभाव थियो। एक हजार २४८ मिटर उचाइको सो गाउँमा १२० मिटर जमिनमुनिबाट पानी निकालिएको छ।

दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पानी पुग्छ। फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उक्त आयोजनाको उद्घाटन गरे। फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको बताउँदै शर्माले अरु ठाउँमा पनि यस्तो आयोजना सुरु गर्न सकिने सम्भावना रहेको बताए।

नगरपालिकाले यो योजनाका लागि ४० लाख खर्चेको छ। यसअघि पनि विष्टपानी गाउँमा पानी ल्याउनका लागि धेरै प्रयास भएका छन्। वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमिनमुनीबाट पानी तान्ने कुरा नमूना काम रहेको चर्चा गरे।

शङ्करपोखरी पानीको असुविधा भएको गाउँ हो। यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी सङ्कलन गरेरसमेत पानीको गर्जो टार्ने चलन थियो। यो गाउँमा लमाए खोलाबाट पानी तानेर वितरण गर्ने वृहत लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ।

पछिल्लो समय चलेका योजनाले भने शङ्करपोखरीवासीले सुविधाको सास फेर्न थालेका छन्। विष्टपानी खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष अशोक भुसालले पानीका लागि भएको लामो समयको सास्ती अन्त्य भएकोमा खुसी व्यक्त गरे।

Leave a comment

Your email address will not be published.