‘ए’ डिभिजन लिगका दर्शकलाई खोप कार्ड अनिवार्य

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौँ राउन्डको खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

लिगका निर्देशक सन्जीव मिश्रले लिगमा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको बताए । ‘दर्शकले अब टिकट लिँदा अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्नेछ । कार्डको फोटो खिचेर ल्याए पनि हुन्छ । सरकारको मापदण्ड अनुसार रंगशालाको प्यारापिटमा समेत भौतिक दूरी कायम गरिनेछ ।’

‘प्यारापिटमा दर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइनेछ । खाली सिटमा स्टिकर टाँसिनेछ । खेलाडी र अफिसियललाई पनि मास्क, स्यानिटाइजरलगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सहभागि गराइनेछ,’ मिश्रले भने ।

मिश्रका अनुसार लिगमा सहभागी टोलीका खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबसँगको समन्वयमा खेलाडीको उपचार लगायत सबै व्यवस्था एन्फाले गर्नेछ । लिगमा अहिले औसत दुई हजारदेखि १० हजारसम्म दर्शक आइरहेका छन् । लिगको शीर्ष टोली मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्लब बीचको खेलमा सर्वाधिक १० हजार दर्शक रंगशालामा उपस्थित थिए ।

Leave a comment

Your email address will not be published.