अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि सामाजिक सञ्जालमा तरंग!
एयरपोर्ट अधिकारी भन्छन्- सामान लिएर आएको जहाज हो, पहिले पनि आउँथ्यो,,अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा तरंग आएको छ। विभिन्न मान्छेले फोटा र भिडिओ राखेर अमेरिकी जहाज किन आएको भन्दै चासो व्यक्त गरेका छन्।
विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ।
‘आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो,’ विमानस्थलस्थित स्रोतले सेतोपाटीसँग भने, ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ।’
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ।
‘अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो।- सेतोपाटी बाट