भारतबाट फर्कने नेपाली गड्डाचौकी पुगेपछि यसरी लुटिन्छन्

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का आशाराम छन्त्याल मगर गत बुधबार भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा मजदुरी गरेर घर फर्किए। बुधबार साँझ ७ बजे कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश भित्रिएका मगरले हिउँदभरी मजदुरी गरेपछि घरफर्किदा ठेकदारसँग ४० हजार भारतीय रूपैँया मागेर आएका थिए। ४० हजार भारू नगद र केही घरको समान बोकेर आएका मगर एक्लै भएपछि उनको बोलचाल चेकपोष्ट वारि आएर २ जना नेपालीसँग भयो।

एक जना महिला र अर्का पुरुषले मगरसँग आफूहरू पनि अत्तरियासम्म जाने र ‘सँगै जाउ’ भनेको तर दोस्रो दिन विहान १० बजे आफ्नो होस सडक छेउको गहुँबारीमा खुलेको बताए। ‘भारतको चमौलीबाट काम गरेर ४० हजार भारू लिएर घर आउँदै थिए। साँझ ७ बजे गड्डाचौकी पुगेको थिए’ उनले भने, ‘वारी आएपछि दुई जना नेपालीले सँगै जाउ भने। केही वर आएपछि पसलबाट जुस किनेर खान दिए। जुस खाएपछि म बेहोस भएछु। अर्को दिन विहान १० बजे होश खुल्दा मसँगै न पैसा थियो न त झोला नै।’

बिहीबार १० बजे होसमा आउँदा शरीरमा लगाएको कपडाबाहेक झोला र खल्तीमा भएको पैसासमेत लुटिएकोले पैदल हिँडेर महेन्द्रनगर बजारसम्म आएको मगरले बताएका छन्। बजार क्षेत्रमा भेटिएका प्रहरीसँग आफू लुटिएको घटना बताएको भएपनि कुनै सहयोग नपाएको उनको गुनासो छ। अत्तरियासम्म पुग्न सवारी साधनसँग सहयोग मागे पनि नपाएको बताउने मगर पैदल नै हिँडेर गुलरियासम्म पुगेको र घरबाट गएका मान्छेले सडकमा हिँडिरहेको अवस्थामा देखेर साँझ घर पुग्न सकेको उनले बताए।

कञ्चनपुरको गड्डाचौकीबाट स्वदेश फर्कने व्यक्तिमाथि लुटपाट हुने गरेको र प्रहरी समक्ष पीडितले गुनासो गर्दा पनि किन सहयोग गरिएन भनेर कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीसँग प्रश्न गर्दा उनले छन्त्याल मगर हराएको जाहेरी आएको भएपनि लुटपाटमा परेको भन्ने जानकारी प्रहरीलाई नआएको बताए। ‘भारतबाट घर फर्किदा आशाराम छत्याल मगर हराएको भन्ने प्रहरीमा जानकारी आएको थियो। तर नशालु पदार्थ सेवन गराएर लुटपाट भएको जानकारी आएको छैन’ उनले भने, ‘पीडितले प्रहरीमा आएर निवेदन दिए अनुसन्धान गर्नेछौँ।’

यसरी कञ्चनपुरको सीमानाका गड्डाचौकीस्थित नेपाली भूमिमै नेपाली लुटिने क्रम रोकिएको छैन। भारतमा मजदुरी गर्न जाने व्यक्ति कतिपय अवस्थामा भारतीय भूमिमा भारतीयबाट लुटपाटमा पर्ने गरेको भएपनि पछिल्ला वर्षहरूमा नेपालीद्वारा नेपाली भूमिमै लुटपाटमा पर्न थालेका छन्। भारतका विभिन्न ठाउँबाट काम गरेर घर फर्किन लाग्दा लुटपाट गर्ने गिरोहमा नेपाली भाषी नै हुने गरेको पीडितले बताउने गरेका छन्। लुटपाटमा संलग्न व्यक्तिहरूले सँगै महेन्द्रनगर बजारसम्म जाउ भन्ने र बीच बाटोमा पेय पदार्थ खान दिएर बेहोस बनाइ लुटपाट गर्ने गरेको पीडितले बताउने गरेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी चेक पोष्टमा तैनाथ भएपनि राजमार्ग क्षेत्रमा गस्ति नगर्ने भएकोले साँझ र विहान नेपाल प्रवेश गर्ने सर्वसाधारणमाथि लुटपाट हुने गरेको छ।

Leave a comment

Your email address will not be published.