अनेक हण्डर खाँदै सफलता चुमेका शिवनारायण भन्छन्- नेपालमा गरेको काम जिन्दगीभरीका लागि हाे

बेलायत पुर्‍याइदिन्छु भनेर शिवनारायण शर्माले दिएको ७ लाख एजेन्टले खाएर भागिदियो । त्यसअघि कपडाको व्यापारमा पनि ८/१० लाख पैसा फसेका कारण पनि उनी विचलित थिए । अब के गर्ने त ? दाइको फर्निचरको व्यावसाय राम्रै चलेको थियो । अलिअलि अनुभव भएको, लगानी धेरै नहुने र मुनाफा धेरै बस्ने त्यही व्यावसाय गर्ने निर्णयमा उनी पुगे ।

एक जना हेल्पर राखेर सुरु गरेको उनको व्यावसायले ४ वर्षको अवधिमा ठूलो फड्को मारेको छ । उनले हाल फर्निचर, फलसिलिङ, टायल/मार्वल, बिजुली बत्ती, रङ लगायत घरसम्बन्धी सबै काम गर्छन् ।

२० जना भन्दा धेरैले रोजगारी पाइरहेका छन् । सिजनअनुसार स्टाफ धेरै पनि हुने उनले बताए । नाफा मात्र वर्षमा १५ लाख रुपैयाँ भन्दा धेरै हुने गरेको उनी बताउँछन् । उनले यो सफलता पाउनुअघि धेरै हण्डर खाएका छन् ।

राजविराजका शिवनारायण एसएलसी सकेर २०६७ सालमा काठमाडौं आए । प्लस टु पढ्दा पढ्दै उनी दाइको फर्निचरमा सघाउँथे । फर्निचर खासै राम्रोसँग चलेको थिएन । प्लस टु सकेपछि उनले विदेश जाने सोच बनाए ।

‘केही गर्नुपर्छ भन्ने सोच थियो । फर्निचरमा खासै प्रगति हुँदैन जस्तो लाग्यो । र विदेश जाने निर्णय गरेँ,’ उनले भने । ‘फ्रि भिसा–फ्रि टिकट’ नै पाएपछि उनी दुवई हानिए । दुवईमा फर्निचर कम्पनीमा कार्पेन्टरको काम पाए । ‘चाइनिज फर्निचर फिटिङ गर्ने काम थियो । काम गाह्रो नभए पनि ओभर टाइम नपाउँदा ३०/३५ हजारभन्दा धेरै कमाई हुन्थेन’, उनले भने ।

केही महिनापछि उनले कम्पनीमा आफ्नो पढाइकाे बारेमा जानकारी गराए । त्यसपछि उनले सुपर भाइजरको काम पाए । पद बढे पनि उनकाे तलब भने धेरै बढेन । उनले त्यहाँ आउने ग्राहकहरूसँग सम्बन्ध बढाउँदै गइरहेका थिए । कम्पनीमा आउने ग्राहकका सामान्य रिपेयरको काम घरमै गएर गर्न थाले । यसबाट उनलाई राम्रो कमाई हुन थाल्यो । यसरी ६ वर्ष बिताइसकेपछि उनीसगँ ५०/६० लाख पुँजी भयो ।

व्यवसाय गर्न पैसा पनि भयो । कति दिन यसरी घरबाट टाढा बसेर अरुकोमा काम गर्नु जस्तो लाग्यो । जति वर्षपछि फर्किए पनि पछि शून्यबाट सुरु गर्नुपर्छ बरु अहिल्यै जान्छु भनेर नेपाल फर्किएँ’, उनले भने ।

नेपाल त फर्किए तर उनले केही काम गर्नै सकेनन् । लामो समय विदेशमा काम गरेकोले उनले कुनै व्यावसायमा लगानी गर्ने हिम्मत गरेनन् । त्यसपछि उनी डेढ लाख तिरेर कतार हानिए । सुपर मार्केटमा सेल्स इन्चार्जको काम पाएका उनी त्यहाँ पनि धेरै टिक्न सकेनन् ।

काम त सजिलै हो तर सुत्ने टाइमको भर नहुने भएकोले मेरो स्वास्थ्यमा समस्या आयो र ३ महिनापछि नेपाल फर्किएँ’, उनले भने । नेपाल आएपछि उनले कपडा व्यवसाय सुरु गरे । भारतमा कपडा किनेर नेपालमा ल्याएर बेच्थे । त्यो व्यावसायमा उनी सफल हुन सकेनन् । कपडा उधारो दिनुपर्दा धेरै पैसा फस्यो । त्यहीबेला उनलाई एक जनाले बेलायत पठाइदिन्छु भन्यो ।

व्यावसायमा असफल भएका उनी बेलायत जान तयार भए र ७ लाख रुपैयाँ बुझाए । बेलायत पठाउनु त परै जाओस् त्यो पैसा पनि एजेन्टले खाइदियो । यती हण्डर खाँदा उनी पुरै विचलित भए । त्यसपछि बल्ल उनलाई आफैँले जानेको पेसा गर्ने सोच आएको हो । कुनै पनि पेसामा त्यत्तिकै हात हाल्नुहुन्न भन्ने चेत पाइसकेका उनले पहिले दाइको र पछि भिनाजुको फर्निचरमा हेल्परको रूपमा काम गरे । ‘मलाइ अहिलेको फर्निचरको मार्केट बुझ्नु थियो । त्यहाँ काम गर्दा गर्दै मैले ठेक्का पनि लिन थाले । यही अवधिमा धेरैसँग चिनजान पनि गरेँ’, उनले भने ।

काममा पोख्त भएपछि उनले २०७४ सालदेखि एउटा हेल्पर राखेर सानो फर्निचर कारखाना खोले । फर्निचर राम्रो हुँदै गएपछि फलसिलिङ, बिजुली, टायल, मावर्ल हुँदै घर सम्बन्धी सबै काम गर्छन् । हिजोआज उनी यही काममा व्यस्त छन् । उनकोमा अहिले मासिक ४०/४५ हजार कमाउने स्टाफ छन् । व्यावसाय बढाएर कर्मचारी १ सय जना पुर्‍याउने उनको लक्ष्य छ ।

कुनै समय व्यावसायमा डुबेर विचलित भएका शिवनारायण अहिले धेरै खुसी छन् । होस पुर्‍याएर नेपालमै व्यावसाय गर्‍याे भने राम्रो प्रगति गर्न सकिने उनी बताउँछन् । ‘२/४ लाख लगानी गर्‍याे भने नेपालमै व्यावसाय गर्न सकिन्छ । विदेश गए पनि त्यहाँ कमाएको पैसा फर्किएर आएर सदुपयोग गर्न जान्नुपर्छ’, उनले भने, ‘सुरुमै सफल भइन्छ भन्ने छैन । विदेशमा जति गरे पनि केही हुँदैन । नेपालमा सुरु गरेको काम जिन्दगीभरीका लागि हो ।’

Leave a comment

Your email address will not be published.