१९ हजार अष्ट्रेलियन डलरसहित विमानस्थलबाट एक युवती पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१३ बस्ने गोरखा बोर्लाङ ८ की २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।

उनले १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर अवैध रुपमा लुकाई लैजान लागेको प्रहरीले जनाएको छ।

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको ब्यागेज विमानस्थलमा एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

उता पोखरामा पनि स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका ३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलियाका ३० वर्षीय कुलदेव कुमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ८६२१ नम्बरको बसमा सवार उनलाई वडा प्रहरी कार्यालय गगन गौँडाको टोलीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारेको हो।
यस सम्बन्धमा कास्की प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a comment

Your email address will not be published.