प्रहरी जवानकाे हत्या भएपछि लेटाङमा अनिश्चितकालीन कर्फ्यु

स्थानीयवासीको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले मोरङको लेटाङमा आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाएका हुन् ।

लेटाङ नगरपालिका ३, ४, ५, ६ र ७ नम्बर वडामा कर्फ्यु लगाइएकाे हाे । याैन दुर्व्यवहारका आरोपी शिक्षकलाई जाेगाउन खाेजेकाे आराेप लगाउँदै प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । झडपमा गम्भीर घाइते भएकी उनको आइतबार राति कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आक्राेशित भिडले श्रेष्ठकाे घाँटीमा छुरा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ ।

झडपमा अन्य १७ प्रहरीसहित २० जना घाइते भएका छन् । एसपी जनार्दन जीसी पनि घाइते भएका छन् ।लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपपछि आक्रोशित स्थानीय र विद्यार्थीले ती शिक्षक र जनप्रतिनिधिलाई विद्यालयमा थुनेका थिए ।

उनीहरूलाई थुनेर आगो लगाउने प्रयास गरेको जानकारी पाएपछि प्रहरी विद्यालयमा पुगेको थियो । प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेर ल्याउन लाग्दा स्थानीयले रोकेको थिए । प्रहरीले विद्यालयमा बन्धक बनाइएकाहरूको उद्धार गरेको थियो भने आरोपीलाई पक्राउ गरेको थियो ।

तर, स्थानीयले प्रहरी घटना सामसुम पार्न लागेको भन्दै आरोपित शिक्षक आफ्नो जिम्मा लगाउन भनेका थिए । प्रहरीले शिक्षक उनीहरूको जिम्मा लगाउन नमानेपछि प्रहरीमाथि नै आक्रमण गरेको प्रहरीको भनाइ छ ।

Leave a comment

Your email address will not be published.