निजी विद्यालयका शिक्षकदेखि पूर्वप्रहरीसम्म म्यादी प्रहरी हुन लाइनमा

मध्यान्हको चर्को घाम । हात–हातमा फाइल । उखुमै गर्मीलाई कसैले छाता ओडेर छेकेका छन् त कसैले फाइलको साहारा लिएर । चितवनको भरतपुर महानगरपालिका –१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा म्यादी प्रहरीमा भर्ती हुनका लागि आवेदन दिनेको सोमबार बाक्लो भिड लागेको थियो ।


त्यहि भिडमा भेटिए रौतहटका सुदिप कुमार चौधरी । थोरै समयमा आयआर्जन र देशको रक्षा गर्न पाइन्छ भनेर म्यादीमा भर्ती हुन आएको उनले बताए । सुदिप माध्यमिक तहका शिक्षक पनि हुन् । भरतपुरकै एक निजी विद्यालयमा अध्यापन गर्ने उनले आफ्नो तलब थोरै भएकाले छोटो समयमा राम्रो कमाइ हुने आसाले म्यादीमा आवेदन दिन आएको सुनाए । ‘अहिले पनि पढाइरहेको छु । यता म्यादीमा पास भए उता जागिर छोड्छु । स्कुलले राम्रै तलब दिएको भए त यता आउने थिइनँ’, उनले म्यादी प्रहरीमा आवेदन दिन आउनुको बाध्यता खुलाए ।

भरतपुरको शिवनगरबाट आएकी ४० वर्षीय ज्याछु डोल्मा स्याङ्तान पनि आवेदन दिने लाइनमै थिइन् । ‘दुःखले गर्दा नि । खेतीपाती गर्‍यो पैसा हुँदैन म्यादीमा हुन्छ कि भनेर आएको’, उनले सुनाइन् ।

माडीबाट एकाबिहानै आवेदन दिन आएकी अर्की डिलमाया नेपालीले चर्को घाममा लामबद्ध बस्दा बिरामी परिने डर भएको बताइन् । ‘७ घण्टा लाइनमा बसियो आज पालो आउला जस्तो छैन’, उनले घाममा लाइन बस्नुको पीडा सुनाउँदै भनिन्, ‘दुईवटा छोराछोरी छन् । कमाइ केही छैन । श्रीमान नि घरमै हुनुहुन्छ । विदेश जाने भनेको त्यतिकै भएको छ । म्यादीमा भर्ती खुलेको फेसबुकबाट थाहा पाए अनि आएको । घाममा बस्दाबस्दा हैरान परियो’, उनले हैरानी व्यक्त गरिन् ।

बाजुराबाट अहेव पढ्न भरतपुर आएकी १९ वर्षीय जुना सागर म्यादीमा भर्ना हुने लाइनमै भेटिइन् । ‘अहेवको अन्तिम वर्षमा पढ्दै छु । छोटो समयकै लागि भए पनि जागिर गर्ने सोच भएर आएकी हुँ’, उनले सुनाइन् ।

वैदेशिक रोजगारका लागि मलेसिया गएका नवलपरासीका जयबहादुर सुमिमगर राम्रो काम नपरेको भन्दै छोटो समयमै स्वदेश फर्किए । स्वदेश फर्केपछि बेरोजगार बनेका उनलाई म्यादी प्रहरी भर्ती हुन सुनौलो अवसर भएको छ ।

बिहान पाँच बजेदेखि आवेदन दिन लाइनमा बसेका उनले भने, ‘विदेश गए पनि राम्रो काम पाइएन् । छोटै समय भए पनि सरकारी जागिर खाने भनेर आएको’, उनले भने । फर्म हिजै भरे पनि बुझाउन नपाएकाले एकाबिहानै आएको उनले बताए ।

म्यादीको लाइनमै भेटिए पूर्वप्रहरी समेत रहेका ५४ वर्षीय जयबहादुर तामाङ । भरतपुरको शारादानगर घर भएका उनले १६ वर्ष प्रहरी सेवामा बिताए । घरमै फुर्सदिलो बनेका उनलाई फेरि म्यादी प्रहरीमा भर्ती हुने लहड चल्यो । ‘अहिले घरमा काम पनि केही छैन । पहिलेभन्दा अहिले कत्तिको फरक भएछ बुझुम भनेर पनि आवेदन दिन आएको’, उनले सुनाए ।

भरतपुरको शिवघाटबाट आएका २० वर्षीय अभिशेक गुरुङको लक्ष्य छ ब्रिटिश लाहुरे बन्ने । उनले म्यादी प्रहरी आर्थिक र शारीरिक हिसाबले फाइदा हुने हिसाबले आवेदन दिन आएको बताए । अहिले ब्रिटिशको भर्ती पनि खुलेको छैन । अनुभव पनि हुन्छ । यता पनि रनिङ ट्रेनिङ हुन्छ । आम्दानी पनि हुने भयो त्यसैले आएका हुँ’, उनले बताए ।

Leave a comment

Your email address will not be published.