पटके अम्बिकाः बच्चाको मुन्द्रा चोर्थिन्, बेचेर लागुऔषध किन्थिन्

स्याङ्जा चापाकोटकी अम्बिका पुलामी मगर गत ५ पुसमा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेकी थिइन् । चोरीसम्बन्धी कसुरमा समातिएपछि एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी २५ वर्षीया पुलामी फेरि पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई बालबालिकाको कानको मुन्द्रा चोरेको आरोपमा दोस्रोपटक ४ चैतमा पक्राउ गरेको हो । अम्बिकासँगै सुन पसल सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र २७ वर्षीय नितेश विश्वकर्मालाई पनि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । चोरी डाँकासम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

आफन्त बनेर चोरी

अम्बिका बालबच्चाको आफन्त बनेर चोरी गर्थिन् । बच्चाबच्चीलाई मिठाइ, जुस, बिस्कुट दिएर फकाउने र कानको मुन्द्रा झिकेर लैजान्थिन् । यसअघि चोरी गर्दा उनले सक्कली चोरेपछि बच्चाको कानमा नक्कली मुन्द्रा लगाइदिन्थिन् । यसपटक भने त्यस्तो केही नगरेको प्रहरीले बताएको छ ।

विद्यालयबाट बच्चा छुटेपछि पछ्याउँदै गएर बच्चालाई फकाउने, जहाँ एकान्त हुन्छ त्यहाँ बच्चाहरूको गहना चोरी गर्ने गरेको पाइएको छ,’ डीएसपी तिवारीले अम्बिकाको चोर्ने तरिका सुनाए, ‘कहिले माइजु, कहिले फूपू वा अरु आफन्त बनेर बच्चासँग कुरा गर्थिन् ।’

प्रहरीका अनुसार पछिल्लोपटक उनले राष्ट्रिय मावि टुँडिखेलमा पढ्ने दुई जना बालिकाको मुन्द्रा चोरेकी थिइन् । पोखरा-१, टुँडिखेलको राष्ट्रिय माविमा पढ्ने सोही वडाको सिम्पानी बस्ने ९ वर्षीय सञ्जिता तामाङ र रेजल तामाङको सुनको मुन्द्रा चोरेपछि बालिकाका अभिभावक वडा प्रहरी कार्यालय, बगर पुगेका थिए । अभिभावक आएपछि प्रहरीले त्यस्तै प्रकृतिका घटनाका पुराना अपराधी खोज्न थाल्यो । प्राप्त हुलियाको आधारमा पुराना अपराधी खोज्दा अम्बिका पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । स्याङ्जा घर भई पोखरा रामबजार बस्ने उनलाई ४ चैतमा घर नजिकैबाट पक्राउ गरिएको हो ।

उनले सञ्जिता र रेजलको मुन्द्रा पोखरा राष्ट्र बैँक चोकस्थित पञ्चासे सुनचाँदी पसलमा लगेर बेचेकी थिइन् । अम्बिकाले त्यहाँ मुन्द्रा ५९ सय रुपैयाँमा बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अम्बिकाले सुन बेचेको पसलका सञ्चालकले दुई हजार रुपैयाँ नाफा खाएर बिरौटाको नितिशा सुनचाँदी पसलमा उक्त मुन्द्रा बेचेका थिए ।

दुवै पसले पञ्चासे सुनचाँदी पसलका सञ्चालक पोखरा-२३ का थमनसिंह र नितिशा सुनचाँदीका सञ्चालक पोखरा-२१ का नितेशलाई प्रहरीले पक्राउ गरेको छ । नितेशको पसलबाट प्रहरीले ५ वटा मुन्द्रा (७.६ लाल) बरामद गरेको डीएसपी तिवारीले बताए ।

कुलतले चोर्न बाध्य

अम्बिका लागुऔषधको कुलतमा फसेकी थिइन् । उनले चोरीको मुन्द्रा बेचेर पाएको पैसाबाट लागुऔषध खरिद गर्ने गरेको प्रहरीले बताएको छ । गत मंसिरमा पक्राउ परेपछिको बयानमा पनि उनले सो कुरा भनेकी छन् । ‘मैले साथी संगतिमा लागुऔषध नाइट्रोभ्याट, फर्मुला तथा सिरिन्जको माध्यमबाट प्रयोग गरिने डाइजापाम सेवन गर्न सिकेकी थिएँ । लागुऔषधको सेवन गर्ने लत बसेको र सेवन गर्नका लागि खरिद गर्न पैसा नहुने हुँदा मैले स-साना बच्चाहरूलाई फकाएर उनीहरूको मुन्द्रा चोर्ने र लागुऔषध खरिद गर्छु भन्ने सोच बनाएँ,’ अम्बिकाले भनेकी थिइन् ।

गत २६ कात्तिकमा पोखरा-१४ का विभिन्न ठाउँबाट बच्चाहरूको मुन्द्रा चोरेकी थिइन् । बच्चाका परिवारले प्रहरीमा जाहेरी दिएपछि उनी ६ मंसिरमा पोखरा पृथ्वीचोकबाट पक्राउ परेकी थिइन् । गत ५ पुसमा धरौटीमा छुटेकी उनले निस्किएलगत्तै फेरि मुन्द्रा चोरी थालेकी हुन् ।

Leave a comment

Your email address will not be published.