धनगढीमा फोहोरबाट ग्यास उत्पादन र फोहोर व्यवस्थापन केन्द्रको योजना कहिले होला कार्यान्वयन ?

वीरेन्द्र भट्ट, धनगढीः उपहानगर भन्नेबित्तिकै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सक्षम नगरका रूपमा बुझिन्छ। तर, धनगढीमा नागरिकसँग चर्को कर उठाउने उपमहानगर आधारभूत आवश्यकता पनि पूरा गर्न असफल भएको छ। यतिसम्म कि आफ्नो नगर क्षेत्रबाट निस्कने फोहोरसमेत धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गर्न सकिरहेको छैन। चोकचोकमा फोहोर थुप्रिँदा पनि उपमहानगरले विकल्प सोचेको छैन। उपमहानगरले नदी–खोलाछेउमा फोहोर फाल्ने गरेको छ। जसले पर्यावरणमै ठूलो असर गरिरहेको छ।

एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र स्थापनादेखि विश्व बैंकको सहयोगमा फोहोर संकलनबाट ग्यास उत्पादनसम्मका कार्यक्रम यहाँ अलपत्र छन्। धनगढीमा फोहोर व्यवस्थापनका योजना हुँदाहुँदै पनि ती योजना कार्यान्वयन गराउन उपमहानगर सफल बन्न नसकेको वृह्स्पति रिसर्च एण्ड ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्र बमले बताए। ‘उपमहानगरले धनगढीलाई फोहोरमुक्त सहर बनाउन सकेको छैन। नदीखोला छेउमा फोहोर फाल्दा दुर्घन्ध मात्र फैलिरहेको छ’ उनले भने।

जथाभावी फोहोर विसर्जनले मानव बस्तीमा समेत असर गरिरहेको छ। फोहोर व्यवस्थापनको तरिका नै सही नभएको नगरवासीको गुनासो छ। धनगढीका मेयर नृपबहादुर वडले चुनावका बेला ‘स्वच्छ धनगढी र सुन्दर धनगढी’ बनाउने भन्दै सरसफाइमा अब्बल, उचित ढंगले फोहोर व्यवस्थापन भएको सहरको पहिचान दिइने भनेका थिए। नगरवासीले उनलाई निर्वाचित पनि गराए। तर, कार्यकाल सकिनै लाग्दा पनि नगरभित्रको फोहोरको थुप्रोले चुनावी घोषणालाई जिस्क्याइरहेको छ।

एकीकृत फोहोर व्यवस्थापन केन्द्र स्थापनाका लागि क्षेत्रीय सहरी विकास आयोजनाले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) हालै मात्र संघीय मन्त्रीपरिद बैठकले पारित गरेको छ। तर लामो समयसम्म फोहोर व्यवस्थापन केन्द्र स्थापना हुन नसक्दा बजार क्षेत्रबाट संकलित फोहोर खोलाकिनारमा फाल्नुपर्ने बाध्यता रहेको उपमहानगरपालिकाको सामुदायिक विकास तथा सरसफाई शाखामा कार्यरत हरिप्रसाद भट्टले बताए। ‘फोहोर व्यवस्थापनको स्थायी समाधान हुन सकेको छैन। बजार क्षेत्रबाट संकलित फोहोर सुकुटी नाला किनारमा विसर्जन गर्दै आएका छौँ’ उनले भने।

दैनिक १५ टन धनगढी बजारबाट संकलन हुने फोहोरको व्यवस्थापन नहुँदा नगरका नागरिक दुर्गन्धमा बस्न विवश छन्। फोहोरमैला व्यवस्थापनका लागि जबसम्म दीर्घकालीन समाधान खोजिँदैन तबसम्म विभिन्न प्रकारका समस्या दोहोरिरहने सरोकारवाला बताउँछन्। स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, नीति निर्माण तहमा दक्ष व्यक्ति संलग्न नहुनु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभाव यसका लागि मुख्य जटिलता हुन्।

नदी किनारको जग्गा अतिक्रमणदेखि नदीमै फोहोर फाल्ने उपमहानगरको कार्यशैलीले पर्यावरणमै ठूलो असर गरिरहेको वृह्स्पति रिसर्च एण्ड ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक बम बताउँछन्। फोहोर संकलनबाट ग्यास उत्पादन गर्न विश्व बैंकको सहयोग कार्यक्रम पनि कार्यान्वयन हुन नसकेको उनले बताए।

फोहोर व्यवस्थापन केन्द्र, फोहोरपानी प्रशोधन केन्द्र स्थापनाका लागि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको छ। तर फोहोर संकलनबाट ग्यास उत्पादन कार्यक्रम लगायत योजना असफल देखिएपछि धनगढीबाट अन्य पालिकाले सिक्नलायक केही देखिँदैन।

Leave a comment

Your email address will not be published.