२ महिनाभित्र बागमतीका ६ जिल्लामा बर्डफ्लू, किसानको ३ करोड नोक्सान

कुखुरा उत्पादनको हब मानिने बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लू फैलिइसकेको छ । बागमतीमा पहिलो पटक १६ माघ २०७८ देखि बर्डफ्लू देखिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ ।

२ महिनाभित्र काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लू देखिएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । बर्डफ्लूका कारण प्रदेशभर गरेर ५८ हजार दुई सय ६१ वटा पंछी नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ । २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

बर्डफ्लूका कारण ६ जिल्लाका पंक्षी पालक किसानहरूको ३ करोड रुपैयाँ नोक्सान भएको सचिव पाण्डेले बताए । ‘बर्डफ्लूका कारण हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयको छ । क्षतिको विवरण अझै आउँदै छ,’ पाण्डेले भने । दुई महिनाअघि नै देखिइसकेको बर्डफ्लूको नियन्त्रण र रोकथामका लागि प्रयास भइरहे पनि फैलिँदो क्रममा रहेको उनले जानकारी दिए ।

कुखुरा मरे पनि कतिपय किसानलाई बर्डफ्लूकै कारण भन्ने थाहा नहुनुले पनि संक्रमण फैलिन पुगेको सचिव पाण्डेले बताए । काठमाडौंमा १९ हजार पाँचसय ६, भक्तपुरमा २४ हजार ३ सय १९, चितवनमा ९ हजार ६ सय ७०, ललितपुरमा दुई २ हजार २ सय ६२, सिन्धुपाल्चोकको २ हजार एकसय ८८ र मकवानपुरको ३ सय १६ पंछी नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये बोइलर कुखुरा ११ हजार ६ सय ५०, लेयर्स ३५ हजार ६ सय ४३, लोकल ५ हजार ३ सय ४०, हाँस ४ हजार ४ सय ८१ र अन्य १ हजार १ सय ४७ पंछी रहेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए । मन्त्रालयले बर्डफ्लू नियन्त्रण र रोकथामका लागि प्रयास गरिरहेको छ ।

मन्त्रालयले किसानहरूलाई बर्डफ्लू रोगको छिटो सूचना प्रवाह गर्न टोल–फ्रि नम्बरको व्यवस्था अघि बढाइएको जनाइएको छ । पंछीहरुको ढुवानीमा कडाई गर्ने र चेकजाँच गरेका व्यवसायीको रिपोर्ट हेरेर मात्र ढुवानी गर्न दिने मन्त्रालयले जनाएको छ । पंछीहरुमा बर्डफ्लू रोग लागेको शंका लागेमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट परीक्षणको व्यवस्था मिलाएको अधिकारीले जानकारी दिए ।

प्रदेश मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीलाई लामो बिदा नबस्न र जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ । संक्रमण फैलिन नदिन पंछीहरूको आवतजावत नियमनको लागि प्रहरीसँग समन्वय गर्ने, बर्डफ्लू रोग नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि छलफल भइरहेको र बर्डफ्लू देखिएका स्थानमा नष्ट गरिएका पंछीको क्षति भए बापतको रकमसमेत दिन मन्त्रालयले आवश्यक मापदण्ड तयार गरिरहेको जनाइएको छ ।

Leave a comment

Your email address will not be published.