पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्दा पेसीमा फेरि जेल फर्काउला सर्वाेच्च अदालतले?

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद छुट दिने फैसलाविरुद्धको निवेदनबारे बिहीबार सुनुवाइ हुने भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले दिएको पुनरावेदन निवेदन बिहीबार पूर्ण इजलासमा पेसी तोकिएको हो। न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको इजलासमा पेसी तोकिएको हाे।

आफ्नै श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला अदालत काठमाडौंले कोइरालालाई जन्मकैद फैसला सुनाएको थियो। तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा झारेको थियो। कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए।

तर महान्यायाधीवक्ताको कार्यालयले सर्वाेच्चको यो फैसला नजिर एवम् कानुनी सिद्धान्तप्रतिकूल भएको भन्दै त्यसै दिन पुनरवलोकनका लागि निवेदन दिएको थियो।

डीआईजी पदमा बहाल रहेकै बेला ९ वर्ष पहिले कोइरालाले श्रीमतीको हत्या गरेर शव टुक्राटुक्रा पारेर मकवानपुरको जंगलमा लगेर जलाएका थिए।

अर्की प्रतिवादी तारा रेग्मीसँग प्रेम सम्बन्धमा रहेका पति कोइरालाले आफूलाई मानसिक र शारीरिक यातना दिने गरेको भन्दै पहिल्यै ढकालले निवेदन दिएकी थिइन्।

कोइरालालाई जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले भने सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए।

बिहीबारका लागि पेसी चढे पनि यो मुद्दामा सुनुवाइ हुने सम्भावना भने कम छ। उक्त मुद्दाकाे पेसी इजलासको अन्तिम अर्थात् १७औं नम्बरमा छ।

Leave a comment

Your email address will not be published.