चिनियाँ विदेशमन्त्रीकाे नेपाल भ्रमणः नयाँ सम्झौताहरू गर्ने तयारी

चिनियाँ विदेशमन्त्री वाङ यीकाे तीनदिने नेपाल भ्रमणलाई लक्षित गरी काठमाडाैंकाे सुरक्षा व्यवस्था थप कडा पारिएकाे छ । प्रहरी स्राेतका अनुसार विदेशमन्त्री वाङको बासस्थानदेखि उनी आउने सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा सुरक्षा सावधानी बढाइने छ ।

हात्तीसार, स्वयम्भू, बौद्धलगायतका क्षेत्रमा प्रहरीले निगरानी बढाउने छ । गृह मन्त्रायका सहसचिव फणिन्द्रमणि पाेखरेलका अनुसार वाङकाे भ्रमण सुरक्षाबारे हिजाे मन्त्रालयमा छलफल भएकाे थियाे । साेहीअनुसार वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको उनले बताए ।

वाङ आज साँझ काठमाडाैं ओर्लिंदैछन् ।

विमानस्थलमा उनलाई स्वागत गर्न परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोली पुग्ने छ ।

नेपालमा रहँदा वाङले उच्चस्तरीय भेटवार्ता भाेलि र पर्सि गर्ने जनाइएकाे छ । उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित शिष्टाचार भेट गर्नेछन् । भाेलि नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

परराष्ट्र अधिकारीका अनुसार याे वार्तामा द्विदेशीय सहकार्य, विगतका साझेदारीबारे थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने छ । यसैगरी नेपालमा चिनियाँ रेल निर्माणको सम्बन्धमा थप छलफल हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव लोकबहादुर थापाले केही नयाँ सम्झौता गर्ने तयारीसमेत गरिएकाे जानकारी दिए ।

बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने बारेसमेत छलफल गरी सहमति हुनसक्ने जनाइएकाे छ । ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, जलविद्युत परियाेजनाबारे पनि छलफल हुने छ । रेल्वे परियोजनालगायतका १४ वटा विषयमा सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो ।

Leave a comment

Your email address will not be published.