१४ वर्षदेखि कतारसँग श्रम नवीकरणको चर्चा तर ताेकिँदैन मिति

सन् २००५ मा श्रमिक आपूर्ति गर्ने विषयमा नेपाल र कतारबीच सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । त्यो समयमा गरेको श्रम सम्झौताको म्याद सकिएको पनि १४ वर्ष भयो ।

कतारसँग श्रम सम्झौता नवीकरण गर्ने विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका श्रममन्त्रीले आफ्नो मुख्य एजेण्डा नै बनाउने गरेका छन् । कतारसँग श्रम सम्झौता नवीकरण गर्ने विषय श्रममन्त्री परिवर्तन भएपिच्छे चर्चा हुने गरेको छ ।

सन् २००८ यता करिब नौ जना श्रममन्त्री र १५ जना श्रमसचिव फेरिएका छन् । नौ जना श्रममन्त्री र १५ जना सचिवले कतारसँग श्रम सम्झौता नवीकरण गर्न बनेको नेपाल–कतार संयुक्त समितिको बैठकमा सहभागी भएर छलफलसमेत गरेको श्रम मन्त्रालयको तथ्यांक छ ।

१४ वर्षयता कतार र नेपालबीच श्रम सम्झौता नवीकरण गर्ने विषयमा छलफल र सहमति भए पनि सम्झदारीपत्रमा हस्ताक्षर गर्ने मिति भने तय हुने सकेको छैन । श्रम सम्झौता नवीकरण नभए पनि वार्षिक करिब १ लाख कामदार रोजगारीका लागि कतार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

गत साता कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारी श्रममन्त्री डा. अल वीन समिख अल मारीसँग श्रम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गरे । दुवै देशका मन्त्रीहरूले तत्काल श्रम सम्झौता नवीकरण गर्ने प्रतिबद्धता गरेका थिए ।

मारी र श्रेष्ठबीच भएको छलफलमा नेपाल–कतार संयुक्त समितिको चौथो बैठकले छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी र कतारले चाँडै सरकारीस्तरमा छलफल भए पनि मिति तय गरिने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

Leave a comment

Your email address will not be published.