बुढेसकालमा कलाधारको पौरख : जोत्छन् ट्याक्टर, सरकारलाई पठाउँछन् आलु र धान

घर आडैमा ६ रोपनी जग्गा छ । ७८ वर्षीय कलाधार भण्डारी वर्षभर त्यो खेत कहिल्यै बाँझो रहन दिँदैनन् । उनी आफैँ कहिले धान, कहिले मकै, कहिले आलु, कहिले गहुँ लगाउँछन् ।

कलाधारले फलाएको आलु र धान पोखरा महानगरपालिकाले किन्छ । पोखरा २३, ठूलाखेतको कलाधार नेतृत्वको ठूलाखेत कृषक समूहबाट उत्पादित ९८ बोरा (प्रति बोरा ५० केजी) गत महिनामात्रै महानगरले लगेको छ । त्योमध्ये १९ बोरा कलाधारले ६ रोपनीमा उब्जाएका हुन् ।

महानगरले मकैको बिउ पठाइदिएको छ, कलाधार त्यही लगाउने सुरसार गरिरहेका छन् । बुढेसकालमा पनि उनी आफैँ हाते ट्याक्टरले जोत्छन्, कुटो–कोदाल गर्छन् । बुढेसकाल लागेका उनको जाँगर देखेर छरछिमेकमात्रै होइन सरकारी कर्मचारी पनि चकित छन् ।

बुढेसकालमा पनि यत्रो जोस कसरी आउँछ ?

जीवनको आधा दशक किसानी गरेका कलाधार देशको चिन्ता गर्दै जवाफ फर्काउँछन् । ‘गाह्रो, बुढो भइयो भनेर मैले छोड्ने, अर्कोले छोड्ने गरे सबैतिर भारत, अरू देश ताक्ने हुन्छ,’ उनी भन्छन्, ‘कृषि छोड्यो भने मान्छे बाँच्नेवाला छैन भन्ने कुरा मेरो आत्मामा बिज्या हुनाले कृषि मन पराउँछु ।’

कलाधार कृषक समूहका अध्यक्ष हुन् । उनी नेतृत्वको समूहले बिउ उब्जाएर महानगरलाई पठाउन थालेको ९ वर्ष भइसकेको छ । फेवातालको पश्चिमी भेगका ३७ जना किसान मिलेर सामूहिक खेती गरेका छन् । २०६२ सालमा खुलेको ठूलाखेत कृषक समूहले पोखरा महानगरपालिकालाई आलु र धानको बिउ दिन्छ । महानगरको कृषि महाशाखाले त्यही बिउ अरू किसानलाई पठाउँछ । ‘कलाधार बा’को समूहले आलुको बिउ हरेक वर्ष पाँच/सात टन उत्पादन गर्छ,’ महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘धानको बिउ पनि उनीहरूबाटै ल्याएर अरू किसानलाई वितरण गर्छौँ । उनीहरूको कामबाट अरू किसानले फाइदा पाएका छन् ।’

भारतको काेककातामा जन्मिएका कलाधारलाई आमाले नेपाल ल्याइन्, उनले पोखराकै फाँटमा पसिना बगाए । कलाधारको घर आडैमा समूहको १३ रोपनी जग्गा छ । त्यसमा ६ रोपनी उनकै हो । आफ्नो जमिनमा उनी सिमी, मकै, बन्दा, काउली फलाउँछन् । किसानले महानगरलाई आलु बेच्छन् । महानगरले आलुका लागि मल, बिउ अनुदान पनि दिन्छ । धानको बिउबापत महानगरले बर्षेनि तोकेअनुसार मूल्य आफूहरूले पाउने गरेको भण्डारीले सुनाए ।

दुई छोरा र तीन छोरीका बुवा कलाधारलाई छोराहरूले खेती–किसानी छोडेर आफूसँग बस्न भनिरहन्छन् । उनलाई भने खेतमै पसिना बगाउनु छ । कलाधारको पौरख नियालिरहेका महाशाखा प्रमुख कडरिया खुलेर उनको प्रशंसा गर्छन् । ‘उहाँसँग चिनजान भएको आठ वर्ष जति भयो । उहाँ साह्रै कर्मशील मान्छे हो । उहाँको आत्मामै कृषि छ,’ मनहर भन्छन्, ‘उहाँ अझै हाते ट्याक्टर चलाउनु हुन्छ, खेतका अरू काम पनि सक्रिय रहनुहुन्छ । अब यस्तो मान्छे सायदै भटिन्छ ।’

Leave a comment

Your email address will not be published.