जसलाई लकडाउनले नेपाल फर्कायो, दुबईमा सिकेको सीप सदुपयोग गरायो

इन्द्रजित गुरुङलाई बिहानदेखि रातिसम्म फुर्सद छैन । बानेश्वर बिजुलीबजारस्थित उनको निन्जा रोस्ट एण्ड टोस्ट क्याफेमा युवा युवतीदेखि बयस्कसम्मका ग्राहकको सधैँजसो भिड हुन्छ । दुबईमा रहेको बहुचर्चित स्टार बक्स कफीमा सिकेको नयाँ–नयाँ कफीको स्वाद यहाँ दिने हुँदा उनको क्याफेमा कफी पारखीहरूको राम्रै जमघट हुन्छ । ग्राहकको मागपछि उनले कफी बाहेक स्यान्डविच, बर्गर लागायतका फास्ट फुड पनि राखेका छन् ।

सञ्चालन गरेको १ वर्ष पनि नपुग्दै उनको क्याफेले दैनिक व्यापार १५ देखि २० हजारसम्म पुर्‍यायसकेकाे छ । सुरुवातका दिनमा एक्लैले चलाएको क्याफेमा हाल उनले २ जना स्टाफ थपेका छन् भने अरु एक जना थप्ने तयारीमा छन् ।

सबै खर्च कटाएर मासिक बचत मात्रै कम्तीमा ६० देखि ७० हजारसम्म गर्छन् इन्द्रजित । उनी यो आम्दानीलाई दुई गुणा बढाउने योजना अनुरूप होम डेलिभरी सेवा पनि सुरु गर्दैछन् । उनले अहिले व्यवसायीको छवि बनाउनुको मूल कारण भने लकडाउन हो । लकडाउन नभइदिएको भए उनी अहिले पनि विदेशमै हुन्थे ।

स्याङ्जामा जन्मिएका इन्द्रजिततले उच्च शिक्षा पोखरामा लिए । १२ कक्षा सकेपछि होटल बाराहीमा वेटरको काम पाए । होटलमा रुचि भए पनि सैनिक पारिवारिक पृष्ठभूमि भएका उनलाई सैनिकमै जान पारिवारिक दबाब आयो । ‘हाम्रो पारिवारिक सर्कलमा लाहुरेको राम्रो इज्जत हुन्थ्यो । परिवारले आग्रह गरेपछि म पनि ट्रेनिङ लिन थाले । ३ वर्ष लगातार प्रयास गरे । ब्रिटिस र इण्डियन आर्मीमा गरी चारपटक प्रयास गरियाे । तर, छनाेटमा परिनँ,’ उनले भने ।

उनले यो ३ वर्ष न पढाइ अगाडि बढाउन सके नत लाहुरे नै हुन पाए । अब के गर्ने भन्ने पीर हुन थाल्यो । त्यही बेला उनले लेकसाइडस्थित साथीको दाइहरूको होटलमा सर्भ गर्ने काम पाए । ‘काम त सर्भ गर्ने भइहाल्यो त्यो बाहेक पर्यटकहरूसगँ गफ गर्ने, साथी बनाएर ग्राहक बढाउने पनि गर्थ्याैँ,’ उनले भने । त्यहाँ १ वर्ष काम गरेपछि उनी केही समय काठमाडौं आएर क्याम्पस भर्ना भए र ब्रिटिस क्याम्पमा जागिर पाएपछि फेरि पोखरा फर्किए ।

ब्रिटिस क्याम्पमा १८ महिनामा थाई नभई एग्रिमेन्ट सकिएपछि भने विदेश जाने सोच बनाएर उनी काठमाडौं आए । ‘मकाउ जान भनेर आमाको ५ तोला सुन मागेर काठमाडौं आए । ३ लाख जति लाग्छ भनेको थियो । ७ महिना जति लाग्यो तर काम भएन । मेनपावरवालाले ८० हजार पनि खाएर भाग्यो,’ उनले भने । दाइसगँ सल्लाह गरेर त्यसपछि ट्राभल एजेन्सी खोल्ने सोच बनाए । केही समयपछि ट्राभल एजेन्सी छाडेर दाई अष्ट्रेलिया गएपछि इन्द्रले त्यो कम्पनी राम्रोसँग चलाउन सकेनन् । अनि ट्राभल एजेन्सी बेचेर पोखरा नै फर्किए । ‘त्यतीबेला सम्ममा म त पुरै फ्रस्टेसनमा गइसकेको थिए । न पैसा छ, न पढाइ न त केही गर्ने बाटो नै बाँकी छ,’ उनले भने ।

दुुबईमा स्टार बक्स कफीमा मान्छे मागेको रहेछ । उनले एप्लाई गरे । भिसा लाग्यो । सन् २०१३ देखि सुरु भयो उनको दुबईको यात्रा । फ्रि भिसा, फ्रि टिकट भएर मेरो खर्च २० हजार जति मात्रै भयो कमाइ पनि सुरुमै ५० हजार थियो,’ उनले भने । त्यहाँ गएर केही समयको ट्रेनिङपछि उनी बारिष्टाको काममा पोख्त भए । त्यहाँ टिप्स लिन नपाउने भए पनि सेल्सको टार्गेट कटाएपछि कमिसन मिल्थ्याे । पछिल्लो समय त उनको तलब, कमिसन, बोनस गरेर महिनाको झण्डै १ लाख कमाइ पुथ्यो । वर्षको ३० दिन बिदा लिन पाउने त्यो कम्पनीमा ६/६ महिनामा आउन चाहे पनि पाइन्थ्यो । सेवा सुविधा राम्रो भएकाले उनी झण्डै ८ वर्ष दुबई बसे ।

‘मलाई त विदेशको बानी नै पर्‍याे । नेपाल आउने त सोचेको थिइन । न्यूजल्याण्ड जान तयारी गर्दै थिएँ,’ उनले भने, त्यही बेला कोभिडको महामारी सुरु भयो । काम पनि रोकियो ।’काम रोकिए पनि कम्पनीले ७० प्रतिशत तलब भने दिन्थ्यो । श्रीमतीले उनलाई नेपाल फर्किन आग्रह गरिन् । त्यस्तो महामारी देखेपछि उनलाई पनि त्यहाँ बसिरहन मन लागेन । ‘मान्छेहरू मरेको देख्दा पैसा मात्रै ठूलो कुरा होइन जस्तो लाग्यो र नेपाल फर्कने निर्णय गरेँ,’ इन्द्रले भने । नेपाल आउन टिकट काटेर पीसीआर टेष्ट गराउदा उनलाई कोभिड पोजेटिभ देखिएर फ्लाइट छुट्यो । केही समय आइसोलेशनमा बसेपछि सन्चो भएर उनी नेपाल फर्किए ।

नेपाल फर्किदा उनलाई नेपालमै क्याफे खोल्ने सोचिसकेका थिए । यत्रो वर्ष दुबई बस्दा उनले पोखरामा जग्गा किनेर पनि १४/१५ लाख रुपैयाँ बचत थियो । नेपाल फर्किएपछि उनी ६ महिना जति नेपालको मार्केट रिसर्च गर्न थाले । काठमाडौंका चोक–चोक चहार्न थाले । एकदिन डुल्दै जादाँ बिजुलीबजारबाट बुद्धनगर जाने बाटोमा ठाउँ खाली देखे । त्यो ठाउँ उनलाई देख्ने बित्तिकै मन पर्‍याे ।

यहाँ पहिले स्पेयर पाट्सको शोरुम रहेछ । चहल पहल राम्रो हुने भएकाले यो ठाउँ निकै मन पर्‍याे । म मध्यबानेश्वर बस्ने भएकाले पनि यो ठाउँ पायक पर्‍याे,’ उनले भने । इन्द्रले क्याफे सुरुमा एक्लैले चलाए । चिया र कफी मात्र बेच्थे । बिस्तारै ग्राहक बढ्दै गएपछि ग्राहककै आग्रहमा खानाका आइटम थपे ।

अहिले उनको दिनप्रतिदिन ग्राहक र सेल्स बढिरहेको छ । ग्राहक बढाउन उनी बुद्धनगर आसपासका अफिसहरूमा मेन्यु नै छाडेर मार्केटिङ गरिरहेका छन् । उनी अब विशेष प्रकारको ‘इन्सुलेटेड’ ब्याग किनेर बेवरेज पनि डेलिभरी गर्ने तयारीमा छन् ।
दुबई हुँदा नेपाल फर्कन मन नलागेका इन्द्रलाई क्याफेको सफलताले खुसी दिएको छ । सीप भयो र मिहिनेत गर्‍याे भने नेपालमै पनि राम्रो प्रगति गर्न सकिन्छ भन्नेमा उनी ढुक्क छन् । विदेश जाँदा पनि सीप सिकेर जादा दु:ख नपाइने इन्द्र बताउँछन् । ‘विदेश जानै हुँदैन भन्ने होइन । जाँदा सीप सिकेर जाने र पैसा कमाएर नेपाल फर्केपछि त्यहाँ सिकेको सीपलाई नेपालमा प्रयोग गरेर धेरै प्रगति गर्न सकिन्छ,’ उनले भने ।

Leave a comment

Your email address will not be published.