चौकीबाट १०० मिटर टाढा आगलागी हुँदा पनि प्रहरी नआएको भन्दै धनुषाका स्थानीय आक्रोशित

धनुषाको विदेही नगरपालिकाको तिनकोरीयामा गएराति एक पसलमा आगलागी भएपछि स्थानीयहरू प्रदर्शनमा उत्रेका छन् ।

प्रहरी चौकीबाट १०० मिटर दूरीमा रहेको पान पसलमा आगलागी भए पनि प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

समयमै आगो नियन्त्रणका लागि प्रहरीले चासो नदेखाएको उनीहरूको आरोप छ । प्रहरीको बेवास्ताकै कारण पसल खरानी भएको भन्दै स्थानीय व्यापारीहरूले प्रदर्शन गरेका छन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो ।

अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय धनुषाले कडा सुरक्षा व्यवस्था मिलाएको छ । ‘प्रहरीले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन भएको हो । बाटो खुलाउन सामान्य बल प्रयोग गर्दा तनावग्रस्त भएको छ,’ धनुषाका डीएसपी जितेन्द्र बस्नेतले भने । उनका अनुसार बाटो खुलाउन प्रदर्शनलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रुग्यास प्रयोग भएको छ ।

प्रदर्शनकारीले नगरपालिकाले सीसीटीभीको व्यवस्था नगरेको र प्रहरीले कुनै पनि सुरक्षा प्रदान नगरेको भन्दै प्रदर्शन गरिरहेका छन् ।आगलागी भएको पसलको मुचुल्का उठाई प्रशासनले थप अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले शिलापत्रलाई जानकारी दिए ।

Leave a comment

Your email address will not be published.