प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाने भएका छन् ।
पाँचौँ कार्यकालका लागि प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक भारत भ्रमण हो । यही चैत १८ देखि २० सम्म प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार जानकारी दिएका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चैत १९ मा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति वैंकया नायडुसँग पनि भेट गर्नेछन् ।
स्वदेश फर्किने दिन चैत २० मा प्रधानमन्त्री देउवाले वाराणसीको भ्रमण पनि गर्नेछन् ।
भ्रमणमा प्रधानमन्त्री देउवाका साथ परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रथम महिला डा. आरजु देउवालगायत उच्च अधिकारी सहभागी हुनेछन् ।