असनको गल्लीमा देखिएको शहर र संस्कृति बन्यो ‘नेपाल बिम्ब बेस्ट स्ट्रिट फोटोग्राफी’

भिडले भरिने असनको गल्ली त देखिराखेकै हो । तर, असनको आकाशे भ्यू अर्थात् आकाशबाट चियाउँदा असनको गल्ली कस्तो देखिन्छ ?

काठमाडौंमै हुर्किएका सिद्धार्थ महर्जनलाई हरेक दृश्यलाई चरा भएर हेर्न मन छ । त्यस दिन सेतो मच्छिन्द्रनाथको बेला थियो । असनको ६ वटा बाटो जाने जङ्क्सनको फोटो उनलाई माथिबाट खिच्ने चाह भयो । नभन्दै उनले बत्ती बल्ने समय पर्खिएर त्यस दिन ड्रोनले असनको भिड, बत्ती, संस्कृति र शहर झल्काउने फोटो खिचे ।

हुन त सिद्धार्थ विगत ७ वर्षदेखि आईटी क्षेत्रमा काम गर्छन् । बढीभन्दा बढी इभेन्टहरू कभर गर्छन् । तर, उनलाई सबैभन्दा बढी स्ट्रिट फोटोग्राफी मन पर्छ । बाटोछेउ बसिरहेका, हिँडिरहेका मानिसहरूको फोटो खिच्ने काम पनि गर्छन् उनी । ‘फोटो खिचेर मान्छेहरूलाई पनि हामी पोट्रेट दिने गरेका छौँ’, उनले भने ।

सिद्धार्थ महर्जनले खिचेको असनको ‘एरियल भ्यू’ले यस पटकको ‘नेपाल बिम्ब बेस्ट स्ट्रिट फोटोग्राफी’ जितेको छ । जसबापत् उनले ५० हजार नगद पुरस्कार हात पारेका छन् ।

‘नेपाल बिम्ब’मा आइतबार कल्चर फेस्टिबल फोटोग्राफी, ल्याण्डस्केप फोटोग्राफी, पोट्रेट फोटोग्राफी, स्ट्रिट फोटोग्राफी र वाइल्डलाइफ फोटोग्राफी गरी पाँच विधामा उत्कृष्ट फोटोहरू पुरस्कृत भए । सात महिनाअघि आह्वान गरिएको यस प्रतियोगितामा देशभरिबाट ५ हजारभन्दा बढी फोटोहरू संकलन भएका थिए । हरेक विधामा विजयी हुने फोटोलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

Leave a comment

Your email address will not be published.