काठमाडाैं आइपुग्यो स्वर्गचरी

स्वर्गचरी काठमाडौँमा भित्रियो होला नि दाइ ! फोटो खिच्न जाने होइन ?’ वाइल्डलाइफ फोटोग्राफर दशरथ श्रेष्ठले मलाई फोन गरेर सोधे ।

गर्मीका चराहरूको नेपाल आउने क्रम सुरु भएको छ । भारत र श्रीलंकाबाट स्वर्गचरीहरू नेपाल भित्रँदैछन् । त्यही सोचेर काठमाडौँमै कतै स्वर्गचरी हेर्न जाने प्रस्ताव स्वीकारेँ ।

त्यसै योजना अनुरुप हामी चरा हेर्न गयौँ । पृष्ठभूमिमा झरनासहित स्वर्गचरीको तस्वीर खिच्ने सोचेर हामी बिहानै झोर गयौँ ।

दशरथ र म जब झोर पुग्यौँ अन्य चरा फोटोग्राफरहरू पनि आउनुभयो । श्री पंत, किरणराज, कृष्ण प्रजापति हामीसँग जोडिए । छुट्टै समूहबाट हामी त्यहाँ पुगेका थियौँ । तर, धेरै फोटोग्राफर पुगकोले स्वर्गचरी अवलोकनलाई जाने टोली जस्ता देखियौँ । र, हामी स्वर्गचरीलाई खोज्न निस्क्यौँ ।

फोटो खिच्दै गर्दा १८ वर्षीय निसान शर्मा र २० वर्षीय प्रशोक तामाङ पनि झोर आए । स्वर्गचरीको फेटो खिच्ने लक्ष्यसहित नै उनीहरू आएका रहेछन् । फेटोग्राफीमा उनीहरूको रुची देखेर खुसी पनि लाग्यो ।

रोचक कुरा के भने हामी सबैलाई अनौपचारिक निम्तो दिने तिनै दुई फोटोग्राफर रहेछन् । फोटो खिच्ने क्रममा उनीहरूको फोटोप्रति लगाव देखेर पनि नयाँ पुस्ताहरू पनि ‘नेचर फोटोग्राफी’मा रुची राख्न थालेकाछन् जस्तो लाग्यो । यसरी प्रकृति संरक्षणमा पनि योगदान हुन सक्ने अनुमान लगाएँ । र, फेरि फोटोग्राफीमै व्यस्त भयौँ ।

अन्य फोटोग्राफी गर्दै गरे पनि स्वर्गचरी देख्ने अवसर भने हामीले पाएका थिएनौँ । निकै समय पर्खेपछि दशरथले स्वर्गचरी देखे । उनले फटाफट ३० ‘फ्रेम’ प्रति सेकेन्डमा स्वर्गचरीको फोटो पनि खिचे । मैले र त्यहाँ उपस्थित सबैले फोटो खिच्यौँ ।

स्वर्गचरी प्रजननको निम्ति मात्र नेपाल आउँछन् । अबको केही दिनपछि स्वर्गचरीले यहाँ गुँड बनाउँछ । अण्डा पार्छ । बच्चा कोरल्छ । र, हुर्काएर साउन, भदौसम्ममा आफ्नै देश फर्कन्छ ।

हामी करिब ११ बजेसम्म झोर बस्यौँ । स्वर्गचरीबाहेक अन्य प्रजातिका चरा, पुतलीको पनि तस्वीर पनि उतार्‍यौँ ।

Leave a comment

Your email address will not be published.