पूर्वाधार र जनशक्ति भएका विद्यालयलाई व्यवसायिक विषय सञ्चालनको अनुमति दिन प्याब्सनको माग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले भौतिक पूर्वाधार पुगेका र पर्याप्त जनशक्ति भएका विद्यालयहरूलाई प्राविधिक तथा व्यवसायिक विषयको कक्षा सञ्चालनका लागि अनुमति प्रदान गर्न माग गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले भौतिक पूर्वाधार पुगेका र पर्याप्त जनशक्ति भएका विद्यालयहरूलाई सहज र सरल प्रकृयाबाट प्राविधिक तथा व्यवसायिक विषयको कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरिनु पर्ने बताए।

प्याब्सनले १५ औं महाधिवेशन पश्चात पहिलोपटक आज पत्रकार सम्मेलन गरी आफ्ना माग अघि सारेको हो।

राज्यले ऐन कानुन मार्फत शिक्षामा निजी क्षेत्रको लगानीको सुरक्षा र निरन्तरताको प्रत्याभूति गर्नुपर्ने प्याब्सनले उल्लेख गरेको छ। साथै, राज्यले प्रदान गर्ने सेवा सुविधामा विभेदकारी ऐन नियम बाधक हुन नहुने जनाएको छ।

पत्रकार सम्मेलन गर्दै वितरित विज्ञप्तिमा सबै बालबालिकालाई राज्यले प्रदान गर्ने सुविधाहरूमा समान अवसर प्रत्याभूत गर्न कानुनमा व्यवस्था गरिएको ४५ प्रतिशत छात्रवृत्ति लगायत सबै विभेदकारी व्यवस्था तत्काल खारेज गर्नु पर्ने उल्लेख गरिएको छ।

सरकारको सबै तहमा गठित वा भविष्यमा गठन हुने विभिन्न आयोग, समिति, उपसमिति, कार्यदल तथा निकायहरूमा निजी विद्यालयको तर्फबाट सम्मानजनक समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, शैक्षिक संस्थाहरूले विद्यालय र विद्यार्थीका लागि प्रयोग हुने सवारी साधन, प्रयोगशाला सामग्री, पुस्तक लगायत अन्य सामग्रीमा लाग्ने भन्सार एवम् कर छुटको व्यवस्था गरिनु पर्ने माग गरिएको छ।

सामुदायिक विद्यालय सरह सम्पूर्ण सुविधा र कर छुटको व्यवस्था गर्नुपर्ने प्याब्सनको धारणा छ। ‘सिप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सम्पन्न १५ औं राष्ट्रिय महाधिवेशले डिके ढुगांनाको अध्यक्षतामा ८९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।

Leave a comment

Your email address will not be published.