५० जनाको टोलीसहित आज दिल्ली जाँदैछन् प्रधानमन्त्री देउवा, भाेलि मोदीसित वार्ता गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्ताे मान्दै प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । देउवा प्रधानमन्त्री भएयताकाे यो भ्रमण पाँचाैँ हुने छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ । टाेली सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्नेछन् ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरू, सचिवहरू तथा पदाधिकारीहरू छन् । यसबाहेक सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जनाकाे टाेली भारत जाने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।

Leave a comment

Your email address will not be published.