हिमालपारिकाे गाउँमा भाटाको एन्टिनाबाट फोन, टेलिकमका कर्मचारी चकित

मोबाइलमा भाटाको एन्टिना ? सुन्दा आश्चर्य लाग्छ । तर, हुम्लाको नाम्खा गाउँपालिकाको १, २ र ३ नम्बर वडाका नागरिक भाटाको एन्टिना बनाएर फोन सम्पर्क गरिरहेका छन् ।

गत माघमा सिमकोट गाउँपालिका–७ स्थित नेपाल टेलिकमको टावर आगलागीबाट जल्यो । यही टावरले हिमालपारिकाे नाम्खाका १,२ र ३ नम्बर वडालाई पनि सञ्चारसँग जोडेको थियो । टावर जलेसँगै यी वडाका नागरिक सञ्चारबाट सम्पर्कविहीन भए ।

सदरमुकाम सिमकोटको टावर टिप्छ कि भनेर अग्लो ठाउँ खोज्न थाले स्थानीयहरू, अग्लो ठाउँमा पुग्दा पनि टिपेन । एक दिन नाम्खा-१ का पेमाथवाङ लामाले मोबाइल चार्ज गर्ने र एयरफोन घुसाउने प्वालमा भाटा छिराएर मोबाइल ठड्याए । टावर देखियो । फोन पनि लाग्यो । त्याे खुसीकाे खबर गाउँभरि फैलियो । भाटाको एन्टिनाबाट मोबाइलमा टावर आएपछि अहिले गाउँ सञ्चारमा जाेडिएकाे छ ।

अचेल आपत् पर्दा स्थानीयहरू भाटाले मोबाइल ठड्याएर फोन गरिरहेको बताउँछन् नाम्खा–१ का वडाध्यक्ष प्रेम लामा । ‘भाटाले ठड्याउँदा सादा मोबाइलमा टावर देखाउँछ । हामीलाई पनि अचम्म लागेको छ,’ उनी भन्छन्, ‘पेमा भाइले ट्राइ गर्दा टावर देखाएछ । अहिले गाउँमा प्रचार भएको छ । सबैले त्यसै गर्नुहुन्छ ।’

वडाध्यक्ष लामाले पेमालाई कसरी सम्भव भयो त भनेर सोधे । तर, यसबारे पेमा आफैँ पनि अनभिज्ञ रहेको उनी बताउँछन् । ‘एकपटक ट्राई गरेको टावर देखियो भने । कसरी सम्भव भयो भन्नेबारे उनलाई पनि थाहा छैन,’ लामा भन्छन्, ‘उताबाट फोन आउँछ । यता सदरमुकामबाट गर्दा लाग्दैन ।’

स्थानीय थिन्ले दोर्जे लामा काठमाडौंबाट दुई साताअघि नाम्खा गएका थिए । उनले गाउँमा सोनाम लामाले मोबाइलमा भाटा छिराएर फोन गरिरहेको देखे । ‘गाउँमा कार्यक्रम रहेछ । आफन्तलाई बोलाउन र सामान ल्याउन सोनामले भाटा छिराएर फोन गरेका रहेछन् । त्यो देखेर मैले पनि ट्राई गरेको । टावर देखियो, फोन लाग्यो । अनौठो पनि लाग्यो,’ उनी भन्छन्, ‘फोन ठड्याएपछि लाउड स्पिकर बनाएर कुरा गर्नुपर्ने रहेछ ।’

टेलिकमका कर्मचारी नै चकित

भाटाको एन्टिना बनाएर फोन गरिरहेको खबरबारे नेपाल टेलिकमका कर्मचारी नै चकित परेका छन् । टेलिकमका इन्जिनियर राजेन्द्र दुलाल भाटाले एन्टिनाको काम नगर्ने बताउँछन् । ‘काठबाट इलेक्ट्रिकल सिग्नल जाँदैन । त्यसले एन्टिनाको काम पनि गर्दैन,’ उनी भन्छन्, ‘हातले सिग्नल छेकेको हुन सक्छ । काठले ठड्याउँदा खुला भएकाले टावर देखिएको हुनुपर्छ ।’

नयाँ टावर अन्तिम चरणमा

आगलागीबाट टावर जलेपछि नयाँ टावर बनाउने काम भइरहेको बताउँछन्, वडाध्यक्ष लामा । ‘टावर बनाउन इन्जिनियरसहितको टोली आउनुभएको छ । जहाजमा टावरको छाता ल्याउन नमिलेकाले ढिला भएको हो । गाडीबाट छाता ल्याएपछि काम सकिन्छ,’ उनी भन्छन्, ‘तीनवटा वडाका लागि तीन ठाउँमा टावर राखिएको छ । एक महिनाभित्र टेलिकमको टावर सञ्चालनमा आउँछ ।’

Leave a comment

Your email address will not be published.