कांग्रेसले भरतपुर नछाडे माओवादीले ललितपुर महानगर पाउला ? यी हुन् मेयरका दाबेदार

२०७४ को स्थानीय चुनावमा ललितपुर महानगरपालिका कांग्रेसमय बनेको थियो । एमाले र राप्रपाको गठबन्धनलाई माथ खुवाउँदै कांग्रेस प्रमुख तथा उपप्रमुख दुवै पदमा विजयी भएको थियो ।

प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा उठ्ने गरी गठबन्धन भएकोमा दुवै दलका उम्मेदवार पराजित भएका थिए । ललितपुरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मतसहित विजयी भएका थिए । चिरिबाबुसँग एमालेका हरिकृष्ण व्यञ्जनकार ३ सय २६ मतले पराजित भएका थिए । एमाले विभाजनपछि केही कमजोर बनेको आकलन गरिएको छ ।

बितेका पाँच वर्षमा ललितपुर महानगरपालिकाका मेयर महर्जन खासै विवादमा परेनन् । सम्पदा पुनर्निर्माण, मुख्य सडकमा साइकल लेन निर्माण, सडकमा स्मार्ट बत्ती जडानलगायतका कामका लागि उनको प्रशंसा पनि भएको थियो । यद्यपि उनले चुनावी नारा बनाएकाे मेट्रो रेल, फ्लाइओभर, राजकुलो पुनर्स्थापना, आयुर्वेद अस्पताल निर्माणलगायतका काम भने घोषणामै सीमित रहे ।

तुलनात्मक रूपमा प्रशंसा र केही कमीकमजोरीका बीच पनि चिरिबाबु महर्जन पुनः ललितपुर महानगरपालिकाकाे मेयरमा दाेहाेरिन चाहेका छन् । यद्यपि नेपाली कांग्रेसको तर्फबाट यसपटक चिरिबाबु मात्रै एक्ला आकांक्षी भने होइनन् । कांग्रेसबाट श्यामकृष्ण महर्जन, चन्द्र महर्जन, सुभानन ध्वाँखाः, राजेश महर्जन र अनन्त श्रेष्ठ आकांक्षीका रूपमा प्रस्तुत भएका छन् ।

सत्ता गठबन्धनकाे चुनावी भागबण्डाले पनि ललितपुर कसकाे भागमा पर्ने टुंगाे लगाउने छ । खासगरी, चितवनकाे भरतपुर महानगरपालिकामा कांग्रेसकाे दह्राे दाबी छ । उता माओवादी केन्द्र पनि अघिल्लाे चुनाव जितेकाे महानगर छाड्न नसकिने भन्दै आएकाे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले भरतपुरमा दाबी गरिरहेका छन् । जहाँ उनकी छोरी रेणु दाहाल मेयर छिन् ।

कांग्रेसले कुनै हालतमा भरतपुर नछाड्ने अड्डी लिएमा माओवादी केन्द्र गठबन्धन जाेगाउन भए पनि त्यसकाे विकल्प खाेज्ने स्थितिमा पुग्न सक्छ । त्यस्ताे अवस्थामा उसकाे राेजाइकाे महानगर हाे, ललितपुर । कांग्रेसबाट मेयर महर्जन नै उम्मेदवार भए गएको चुनावमा थाेरै मतान्तरले पराजित भएका एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार उनका लागि बलियो प्रतिद्वन्द्वीका रूपमा आउन सक्छन् । एमालेले सोही कुरालाई मध्यनजर गर्दै व्यञ्जनकारलाई नै उठाउने निर्णय गरेको ललितपुर एमालेले जनाएकाे छ ।गएको चुनावमा १० हजार ६६१ मत प्राप्त गरी माओवादीबाट चौथो स्थानमा रहेका दिनेश महर्जनलाई भने यसपटक माओवादी केन्द्रले नउठाउने भएकाे छ । स्रोतका अनुसार, माओवादी केन्द्रका तर्फबाट यसपटक ललितपुर महानगरपालिकाको मेयरमा बुद्धिराज बज्राचार्यलाई उठाउन लागिएको हो ।

त्यस्तै, गएको चुनावमा साझा पार्टीबाट उम्मेदवार बनेका रमेश महर्जनले १३ हजार ४५८ मत पाएका थिए । तर, कोभिड १९ कोरोनाका कारण उनको निधन भएपछि ललितपुर महानगरपालिकामा कसलाई उठाउने भन्ने बहस सुरु भएको छ । गएको चुनावमा उपमेयरका लागि उम्मेदावरी दिएकी शोभा शाक्यले १४ हजार २४० मत पाएर उपमेयरको बलियो प्रतिद्वन्द्वी सावित भएकी थिइन् । यस अर्थमा साझा पार्टीले ललितपुर महानगरपालिकालाई सम्भावनाको केन्द्रबिन्दु मानेको छ ।

तर, हाल बागमती प्रदेशकी सांसद रहेकी शाक्यले मेयर पदका लागि उम्मेदवारी दिन्छिन् कि दिँदैनन् भन्ने टुंगो लागि नसकेको विवेकशील साझा पार्टीका प्रवक्ता शरद पाठक बताउँछन् । विवेकशील साझा पार्टी आफैँ विवादमा फसेको छ । विवाद सुल्झिएर उसले चुनावमा भाग लिने वा लिन नभ्याउने दुवै सम्भावना छ ।

यस्तो थियो २०७४ मा ललितपुर महानगरकाे मत परिणामः

प्रमुख

चिरिबाबु महर्जन/नेपाली कांग्रेस– २४,६४२
हरिकृष्ण व्यञ्जनकार/नेकपा एमाले २४,३१६
रमेश महर्जन/ साझा पार्टी– १३,४५८
दिनेश महर्जन/माओवादी केन्द्र– १०,६६१

उपप्रमुख
गीता सत्याल/नेपाली कांग्रेस– १९,८१९
शोभा शाक्य/साझा पार्टी–१४,२४०
हसिना शाक्य/माओवादी केन्द्र– १२,९७९
बाबुकाजी प्रधान/राष्ट्रिय प्रजातन्त्र पार्टी– १०,५४०
सजनी महर्जन/नयाँ शक्ति पार्टी, नेपाल– १,३८०

Leave a comment

Your email address will not be published.