काठमाडौंको फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौँः देउवा

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन्। उनले सम्बन्धित निकायलाई यसको तयारीमा लाग्न निर्देशन दिएका छन्।

बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए।

प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए।

सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यकता भएको बताए। उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए। उनले फोहोरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैले सक्ने पनि बताए।

Leave a comment

Your email address will not be published.