सुन चाँदीका गरगहना चम्काउने बहानामा ठगी गर्ने दुई भारतीयलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार राज्यका २१ वर्षीय राजा कुमार साह र वर्ष २४ को अनिल साह रहेका छन्।
मेलम्ची नगरपालिका–९ चाङखु टोलमा मान बहादुर तामाङसमेतका ८ जनाको घरमा उनीहरुले सुनचाँदीका गरगहना तथा तामा पित्तलका भाँडाकुँडाहरू चम्किलो र सफा गरि दिने बहानामा सुनका गहना सफा गरि कम तौलको बनाई ठगी गरेको प्रहरीले जनाएको छ।
फरार रहेका उनीहरुलाई विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–४ स्थित नवलपुर बजारमा फेला पारी नियन्त्रणमा लिएको छ।
खानतलासी गर्दा उनीहरुको साथबाट भाँडाकुँडा तथा सुनचाँदीका गरगहना सफा गरी संकलन गरेको पानी बोतलसहित बिभिन्न केमिकलसमेत फेला परेको छ।
पक्राउ परेका व्यक्तिलाई सिन्धुपाल्चोक जिल्ला अदालत चौताराबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।