६ महानगर र ११ उपमहानगरमा सत्ता गठबन्धनबाट कसको कति दाबी ?

सत्ता गठबन्धनभित्र स्थानीय चुनावमा तालमेल गर्ने सहमति भए पनि त्यसको मोडालिटीबारे प्रस्ट प्रस्ताव आएको छैन । गठबन्धनभित्र आफूले जितेका स्थान नछोड्ने र एमाले विजयी भएका ठाउँमा भागबण्डा गर्ने चर्चा छ ।

तालमेलको मोडालिटी २६ चैतसम्म तय गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन तथा अनुगमन समितिले गृहकार्य गरिरहेको छ । स्थानीय तहबाट पाँच दलीय संयन्त्रको प्रतिवेदन आउन अझै बाँकी छ । महानगर र उपमहानगरमा तालमेल केन्द्रबाटै गर्ने तयारीमा रहेका दलहरूले ६ महानगर र ११ उपमहानगरमा आ-आफ्नै दाबी पेस गरिरहेका छन् ।

२०७४ को स्थानीय तह चुनावमा ६ महानगरमध्ये कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा जित हासिल गरेको थियो । ललितपुरमा चिरिबाबु महर्जन २४ हजार ६ सय ६२ मतसहित विजयी भएका थिए । यस्तै विराटनगरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतका साथ मेयरमा निर्वाचित भएका थिए । ११ उपमहानगरपालिकामध्ये कांग्रेसले धरान, कलैया र धनगढीमा कांग्रेस विजयी भएको थियो ।

धरानमा पहिले एमालेले जितेको थियो । एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि धरानमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट मेयर कांग्रेसका तिलकबहादुर राई २६ हजार ७ सय ९ मत प्राप्तसहित विजयी भएका थिए । यता, कलैयामा कांग्रेसका राजेश राय यादव १० हजार ९ सय ३ मतका साथ मेयर बन्न सफल बने । धनगढी उपमहानगरपालिकमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मतका साथ विजयी भएका थिए ।

६ महानगरमध्ये २ र ११ उपमहानगरमध्ये तीनमा जित हासिल गरेको कांग्रेसले आफूले जितेको स्‍थान अरुलाई दिन तयार छैन । कांग्रेस उपसभापति धनराज गुरुङ भन्छन्, ‘आफ्नो राम्रो भएको स्थानमा अरुलाई दिने कुरा भएन । बाँकी संयन्त्रमा छलफल भइरहेको छ, त्यसले नै आधिकारिक रूपमा टुंगो लगाउनेछ,’ उनले भने ।

एमाले काठमाडौं र पोखरा महानगरपालिकामा विजयी भएको थियो । काठमाडौंमा विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मतका साथ मेयर निर्वाचित हुँदा पोखरामा मानबहादुर जिसी ६० हजार १ सय १८ मतले विजयी भएका थिए । ११ उपमहागरमध्ये एमालेले इटहरी, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही, जितपुर सिमरामा मेयर जितेको थियो । गठबन्धनमा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा दाबी गरिरहेको छ भने एमालेले जितेका स्थानमा आफ्नो बलियो दाबी रहने बताइसकेको छ ।

हामीले हाम्रो पोजिसनबारे गठबन्धनमा प्रस्ट धारणा राखिसकेका छौँ । एमालेले जितेका स्थानमा हाम्रो दाबी स्वाभाविक छ एक-दुई दिनभित्रमा दाबीको प्रस्ट चित्र आउनेछ,’ नेता जीवनराम श्रेष्ठले भने । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले भरतपुर महानगरपालिका जितेको थियो । माओवादी केन्द्रकी रेणु दाहालले कांग्रेसको सहयोगमा ४३ हजार १ सय २७ मतका साथ मेयरमा निर्वाचित भएकी थिइन् ।

चितवनका सातवटै स्थानीय तहमा तालमेलको निर्णय भए पनि कांग्रेसभित्र भरतपुर आफूले लिनैपर्ने आवाज चर्को छ भने माओवादीले पनि यसलाई प्रतिष्ठाको विषय बनाएको छ । २०७४ को स्‍थानीय तह चुनावमा माओवादी केन्द्रले ११ वटा उपमहानगरमध्ये एउटा पनि नतिजा निकाल्न सकेको थिएन । यसपटकको निर्वाचनमा २ महानगर र कम्तीमा ४ उपमहानगरमा दाबी पेस गर्ने तयारीमा माओवादी छ ।

माओवादी केन्द्रको संगठन अहिले क्रियाशील छ, वडा कमिटीसम्म संगठन व्यवस्थित भएकाले २ सय स्थानीय तहमा हामीले सहजै जित हात पार्छौं । २ महानगरपालिका र कम्तीमा ४ उपमहानगरपालिकामा दाबी पेस गर्नेछौँ,’ माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुप्रकाश शर्माले भने ।

जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा जित निकालेको थियो । जसपाबाट विजय सरावगी १९ हजार ९ सय ३३ मतले मेयर बनेका थिए । ११ उपमहानगरपालिकामध्ये जसपाले कहीँ पनि नतिजा निकालेको थिएन । अहिले वीरगञ्ज महानगर र जनकपुर उपमहानगरमा दाबी नछोड्ने पक्षमा छ । यस्तै बुटवल वा नेपालगञ्ज उपमहानगरमध्ये एक रोज्ने नेता मनिष सुमनले बताए । ‘हामी प्रदेश १ को उपमहानगर, मधेस प्रदेशको उपमहानगर र लुम्बिनीमा १ महानगरमा दाबी गर्ने तयारीमा छौँ,’ सुमनले भने ।

यता, लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनमा आउने तयारीमा छ । गठबन्धनमा आएको स्थितिमा मधेस प्रदेशको वीरगञ्ज महानगर र उपमहानगरमा दाबी गर्ने तयारीमा छ । ‘हाम्रो बलियो आधार इलाका नै मधेस हो । त्यसमा पर्ने महानगर र उपमहानगरमा हामी दाबी गर्छौं । त्यसबाहेक राजविराज नगरपालिकामा त हाम्रो जित निश्चित छ,’ नेता सुरेन्द्रकुमार झाले भने ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने बागलुङ नगरपालिका र प्युठान नगरपालिकामा आफ्नो जित सुनिश्चित गर्ने पक्षमा रहेको छ । ‘हाम्रो आधार बलियो रहेका स्थानमा गठबन्धन दलको सहयोग लिने नीति छ कहाँ कति लिने भन्ने विषयमा अझै छलफल जारी छ,’ नेता दुर्गा पौडेलले भनिन् ।

गठबन्धन दलले आ-आफ्नै दाबी पेस गरे पनि २६ चैतभित्र केन्द्रमा आउने पाँच दलीय संयन्त्रको प्रतिवेदनका आधारमा भागबण्डा टुंगो लगाइनेछ ।

Leave a comment

Your email address will not be published.