सुर्खेतका १३६ सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण

राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले जिल्लाका दुई सरकारी कार्यालयसहित १३८ सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा शुक्रबार भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो।

आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छन्। अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्यलगायतले जग्गाधनी पुर्जा वितरण गरेका हुन्।

सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौंपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरु बञ्चित हुँदै आएका थिए।

अध्यक्ष निरौलाले सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताए।

आयोगका जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारण राखे।

कार्यक्रममा उप–प्रमुख आचार्यले भनिन्, ‘नागरिकको वर्षौंदेखिको ठूलो समस्या समाधान भएको छ । अब नगरभित्रका बाँकी भूमिहिन सुकुम्बासीलाई जग्गा दिनुका साथै पुर्जासमेत उपलव्ध गराउन पहल गर्नेछौँ।’

Leave a comment

Your email address will not be published.