राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले नेपाली जनताको विकासका पूर्वाधारको जिम्मा आफ्नो पार्टीले लिने बताएकी छन्।
झापाको दमकमा शनिबार वृहत् आमसभालाई सम्बोधन थापाले शिक्षा स्वास्थ्य तथा जनताको आधारभूत आवश्यकता पूरा गर्ने पनि वाचा गरिन्।
हामी बोलेर होइन, काम गरेर देखाउँछौँ। जनताको आवश्यकता समस्या हामीले नजिकबाट नियालेका छौँ, गम्भीर छौँ’, उनले भनिन्।
जनप्रतिनिधिहरुले सुकुम्बासीहरूको घरमा डोजर लगाएमा पनि उनले दुखेसो पोखिन्।
सुकुम्बासीहरू पनि यहाँका नागरिक हुन्, सुकुम्बासीको घरमा डोजर लगाउन पाइँदैन, यदि लगाउने हो भने उनीहरुको व्यवस्थापन गर्नुपर्यो,’ उनले थपिन्।
आफू राप्रपामा प्रवेश गरेपछि आमनेपालीमा मुहारमा खुशीको बहार देखिएको बताइन्। ‘राष्ट्रवादी पार्टीमा समाहित भएर देश विकासमा हातेमालो गर्न आग्रह गर्दछु,’ उनले भनिन्।
रेखाले नारीहरू अब कमजोर नरहेको पनि बताएकी छन्। ‘नारीहरू अब कमजोर छैनन्, चुल्हो चौकामा सीमित भएर होइन, देश हाँकेको हेर्न चाहान्छु’, उनले भनिन्, ‘हामी सपना देखाउन आएको होइन, पूरा गर्न आएका हौँ। तर यसमा सबैको हातेमालो आवश्यक छ।’
उनले आफू धेरै नेपाली दिदीबहिनीहरुको सपना साकार गर्न पनि राजनीतिमा होमिएको बताइन्।
‘मैले धेरै दिदी बहिनीहरू सपनाविहीन भएको देखेको छु, हाम्रो पार्टीले सीप र शिक्षा सुनिश्चित गर्छ, रेखा थापा भिड भेला पर्न आएको छैन’, उनले भनिन्, ‘मलाई कलाकारिताले जिउन सहज भएको छ। अब हाम्रो जिम्मा देश बनाउने हो । यो मेरो प्रतिवद्धता हो।’
उनले युवा शक्ति विदेश पलायन हुनुपर्ने वाध्यताप्रति पनि सम्बोधनका क्रममा दुखेसो पोखिन्।
‘कसलाई विदेश गएर काम गर्न रहर होला र?’, उनले भनिन्, ‘हामी देशमै रोजगारीको व्यवस्था गर्छौँ। नारीहरूमाथि हुने हिंसा रोक्छौँ।’