बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अचानक, रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन्।
बीबीसीको खबरअनुसार युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किएभ पुगेका हुन्।
बेलायती प्रधानमन्त्री जोन्सन पहिले जानकारी नदिईकन एक्कासि युक्रेन पुगेको बताइएको छ।
त्यस क्रममा उनले युक्रेनका राष्ट्रपति जेलेन्स्की भेटवार्ता गर्दै रुसविरुद्ध युक्रेनी नागरिकले देखाएको बहादुरीको प्रशंसा गरे र आफ्नो मुलुकले थप सैन्य सहायता दिने बताए।
जोन्सनलाई जेलेन्स्कीले राजधानी किएभका सडकको भ्रमण गराएका थिए। दायाँबायाँ सुरक्षाकर्मी राखेर उनीहरू सडकमा पैदलै घुमेका थिए।
रुसी सेनाले युक्रेनमा गत फेब्रुअरी २४ देखि आक्रमण जारी राखेको छ। तर मार्च २९ का दिन रुसले युक्रेनको राजधानी किएभनजिक रहेका आफ्ना सेना हटाएको छ। अहिले उसको आक्रमण पूर्वी युक्रेनतिर केन्द्रित छ।
रुस र युक्रेनबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन, युद्ध जारी छ।