अर्थमन्त्री जनार्दन शर्माले जेलै जाने अपराध गरे : पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाएका छन्।

नेपालमा विदेशबाट अवैधरुपमा भित्रिएको पैसा छुटाउन खोजेको भन्दै उनले अर्थमन्त्री शर्माले जेलै जाने अपराध गरेको दाबी गरेका हुन्।

अर्थमन्त्रीले गरेको काम अपराध नै हो। यही केसमा अर्थमन्त्रीलाई भित्र हाल्दिनुपर्ने हो’, पाण्डेले भने, ‘अर्थमन्त्रीले किन राष्ट्र बैंकलाई पत्र लेखेको हो?’

अर्थतन्त्रको चिन्ता जाहेर गर्ने गभर्नरलाई सरकारले निलम्बन गरेको पनि उनको आरोप छ।

विदेशबाट अवैधरुपमा भित्रिएको पैसा अर्थमन्त्रीले छुटाउन भनेको कुरा गलत भएको पाण्डेले बताए।

‘अर्थमन्त्रीले लेखेर फलानोको पैसा दे भन्नै मिल्दैन’, उनले थपे, ‘अनुसन्धान गर्ने अधिकारीलाई यो पैसा खोलिदे यो नखोल भन्ने अधिकार अर्थमन्त्रीलाई हुँदैन।’

यो सरकारले वैदेशिक मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा कडाइ गर्न खोज्ने गभर्नरलाई हटाएको पनि उनले बताए।

पाण्डेले वैदेशिक मुद्रामा चाप आएपछि अर्थमन्त्री र अर्थ मन्त्रालयले गर्नुपर्ने काम राष्ट्र बैंकले गरेको दाबी गरे।

गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री पाण्डेले एलसीमा नगद मार्जिन राख्दा केही वस्तु आयातमा नियन्त्रण भएको बताए।

‘राष्ट्र बैंकको नीतिको कारण नै त्यो गर्दा पनि आयात २० अर्ब रुपैयाँ रहने अनुमान छ। नत्र अझ धेरै हुनसक्थ्यो’, उनले भने।

त्यस्तै वैदेशिक अनुदान धेरै आउँछ भन्ने अनुमान गरेको अवस्थामा १३ अर्ब मात्रै रहेको उनले बताए।

त्यसले विदेशी मुद्रालाई चापलाई थेग्न सक्ने स्थिति नरहेको उनको ठहर छ।

त्यस्तै पर्यटन समेत राम्रो उत्साहजनक रुपले केही समय अघि बढ्ने नदेखिएको उनले बताए।

उनले भने, ‘बजेट खर्च जोहो गर्ने स्थितिमा समेत सरकार छैन। हामीसँग पैसा जम्मा ३३ अर्ब छ। हामीले विकास निर्माणको खर्च अर्थात् ठेकेदारहरुले ५० अर्ब रुपैयाँ माग गरेका छन्। अहिले राम्रोसँग विकास खर्च गर्ने हो भने हामीले पैसा दिन नसक्ने स्थितिमा पुगेका छौँ।’

Leave a comment

Your email address will not be published.