पेट्रोलियम क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्री बडूको ध्यानाकर्षण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्।

पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरूसँग आइतबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा भएको भेटमा उनले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए।

बडूले पेट्रोलियम पदार्थको कारोबारमा संलग्न उद्योगी–व्यवसायी र ढुवानीकर्तालाई समस्या र माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको प्रष्ट्याए।

सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उनले उपभोक्तालाई आस्वस्त पारे।

भेटमा नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्स एशोसियसनका प्रतिनिधिहरुले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्री बडूको संयुक्त रुपमा ध्यानाकर्षण गराएका थिए।

नवनियुक्त उद्योगमन्त्री बडूलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिँदै उनीहरुले अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरु विश्वस्त रहेको धारणासमेत राखेका थिए।

Leave a comment

Your email address will not be published.