धनुषामा कार्डबिनै कोरोनाविरूद्धको खोप लगाइँदै

धनुषाको सबैला नगरपालिकामा खोप वितरणमा लापरबाही भएको देखिएको छ।

वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्डै नदिई स्थानीयलाई खोप लगाइएको पाइएको हो।

स्वास्थ्य चौकीकी इन्चार्ज रम्भा यादवका अनुसार पछिल्लो चरणमा मात्रै साढे तीन सय भन्दाबढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको लेखेर दिइने गरिएको छ।

हामीलाई नगरपालिकाले कार्ड नपठाएपछि तत्काल सादा पेपरमा लेखेर दिएका छौं। पछि कार्ड बनाइदिने भनेका छौँ,’ उनले भनिन्।

तर नगरपालिकाका स्वासथ्य शाखा प्रमुख सञ्जयकुमार मण्डलले खोप भन्दाबढी कार्ड स्वास्थ्य चौकीलाई पठाइएको बताए।

‘यहाँबाट सय जनाका लागि खोप लान्छ लान्छ र पाँच सय कार्ड लान्छ। तैपनि पुगेन भन्छ, हामीसँग सीमित कार्ड हुन्छ। अझै कहाँबाट दिनु?,’ उनले भने, ‘खोप जसरी लाग्दै गएको छ त्यसरी नै कार्ड पठाइएको छ। तर पहिले खोप लगाएको मान्छेलाई कार्ड बाँड्न बाँकी छ भनेर थप कार्ड मागेको मागै छ। जबकि पहिले पनि खोपभन्दा बढी कार्ड यहाँबाट लगेको थियो।’

कार्डबिना खोप नलगाउन सम्झाई बुझाई गरे पनि उनीहरूले नमानेको स्वास्थ्य प्रमुख मण्डलको भनाइ छ। ‘स्वास्थ्य चौकीका कर्मचारीलाई सम्झाई बुझाई गरेँ तर उनीहरू बुझ्नेबाला छैनन्, त्यति कार्ड लगेर के गरे उनीहरूलाई सोध्नुस्,’ उनले थपे।

उनका अनुसार ३ सय ९० जनालाई पहिलो चारणमा लगाउन पठाइएको खोपसँगै ६९० कार्ड नगरपालिकाले पठाएको थियो। स्वास्थ्य चौकी इन्चार्ज रम्भा यादवले भने स्वास्थ्य शाखाले खोपभन्दा कम कार्ड पठाएर झुटो बोलेको दाबी गरिन्।

भ्याक्सिन ११ सयसम्म आउँछ, कार्ड तीन सयसम्म दिन्छन्। पाँच दिनदेखि भ्याक्सिन आएको छ। त्यसमा दुई सय कार्ड दिइएको छ,’ उनले भनिन्, ‘एक महिनाघि हाम्रा कार्यालय सहयोगीलाई तीन सय कार्ड मात्र दियो। तर स्वसथ्य शाखाले ६ सय पठाएँ भन्छ। त्यसपछि अर्कोपल्ट चार सय कार्ड मात्र थियो, ८ सय व्यक्तिलाई खोप लगाइयो। अफिसमा कार्ड माग्न जाँदा छैन भने, त्यसैले प्रमाणका लागि पर्चा लेखेर दिइरहेका छौं।’

जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक स्थानमा जान तथा सार्वजनिक निकायका सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको छ। ‘सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क) लगायतमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरूद्धको खोप लगाइएको कार्ड साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेर मात्र व्यवस्था गर्ने,’ जिल्ला प्रशासन कार्यालयले जारी गरिएको आदेशमा भनिएको छ। तर, स्थानीय भने खोप कार्ड अनिवार्य गरिएकोबारे अनभिज्ञ छन्।
कार्डबिना सरकारी कार्यालयमा काम हुँदैन, सार्वजनिक ठाउँमा जान पाइँदैन भन्ने हामीलाई केही थाहा छैन। हामीले हो-हल्ला पनि गर्‍यौं, तर कार्ड दिइएन। पछि दिने भन्यो,’ स्थानीय सञ्जय यादवले भने।

नगरपालिकाका प्रमुख विजय शंकर साहले भने यसबारे स्वास्थ्य चौकीमा बुझिरहेको प्रतिक्रिया दिए। ‘त्यहाँबाट मलाई पनि यो कुरा आएको छ। म बुझ्दैछु,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्डबिनै खोप दिनु गैरकानुनी रहेको बताए। ‘कार्डबिना खोपै लाउन पाइँदैन। कार्डबिना भोलि रेकर्ड हुँदैन। अनलाइन सिस्टममा पनि राख्न सकिँदैन,’ उनले भने। यसबारे आफूले बुझ्ने उनले बताए।

Leave a comment

Your email address will not be published.