एक सातामा शेयर बजार ४९.०७ अंकले घट्यो

शेयरबजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ । नेपाली शेयरबजार चालु आर्थिक वर्षको सुरुवातसँगै उतारचढाव भइरहेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार पाँचौँ दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

यो साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकाले शेयरबजार पनि बन्द भयो । साताको तीन दिन मात्रै कारोबार भयो । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ । बिहीबार पनि सार्वजनिक बिदा भएकाले शेयरबजार बन्द रहेको छ ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीका ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएका थिए ।

साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयरबजार मापक नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले घटेको थियो ।

मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँबराबरमा खरिदबिक्री भए । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो ।

बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इन्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इन्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीका ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भए ।

नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

Leave a comment

Your email address will not be published.