बाँकेमा आगलागी, ११ घर जलेर नष्ट

बाँकेमा आगलागीमा परेर ११ घर जलेका छन्। राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुरमा आगलागी भएको हो।

आगलागीमा ११ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय सीताराम जैसीको घरबाट सुरु भएको आगोले छिमेकी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कणबहादुर खत्रीको घर जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

राप्ती सोनारी गाउँपालिकासँग दमकल नहुँदा आगलागीबाट धेरै क्षति भएको स्थानीयले बताएका छन्। नेपालगञ्जबाट गएको दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा ढिलोगरी आगो निभाइएको थियो।

बिजुली सट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

घरसहित सम्पूर्ण जायजेथा आगोले नष्ट भएपछि पीडित परिवारको विचल्ली भएको छ। आगलागी पीडितलाई गाउँपालिका त्रिपाल र खाद्यान्नको व्यवस्था गरेको अध्यक्ष लाहुराम थारुले बताए।.

Leave a comment

Your email address will not be published.