के हामी यो वर्ष काेराेना महामारीबाट मुक्त हुँदैछौँ ?

२०७९ सालको पहिलो दिन उल्लासका साथ नयाँ वर्ष मनाइयाे । आन्तरिक पर्यटकहरू विभिन्न ठाउँमा घुम्न गए । पर्यटकीयस्थलहरू खचाखच नै देखिन्थे । बितेको २ वर्ष भने कोरोना महामारीको चपेटामा परेको थियो पर्यटन क्षेत्र । मानिसहरू घरमा थुनिएर बसेको अवस्थामा पर्वहरूमा पनि उल्लास थिएन ।

०७७ र ०७८ सालको नयाँ वर्ष काेराेनाकाे त्रासमै बितेको थियो । यसवर्ष भने खुलेरै घुमघाम गर्न निस्कनेको संख्या धेरै देखियाे । समाजिक सञ्जालमा पनि नयाँ वर्षमा रमाइलो गरेका तस्वीरहरू छरपस्ट देखिए ।

स्वास्थ्यविद्हरू पनि यो वर्ष महामारी अन्त्यको वर्ष हुने आकलन गर्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन भन्छन्, ‘हामीले महामारी जित्यौँ भन्दा हुन्छ । अहिले यसको मृत्युदर शून्यप्राय छ । महामारीको अन्त्य हुँदैछ, सकारात्मक बनाैँ ।’

नेपालमा काेराेना संक्रमितको संख्या स्थिर रहेकोले पनि ०७९ साल सामान्य नै रहने पुनको भनाइ छ । ‘खोपको दायरा पनि बढेको छ । नेपालमा कोरोना सामान्य अवस्थामा छ । यसको संकेत के हो भने, हामी अब सामान्य जीवनमा फर्किँदैछौँ,’ उनल भने ।

यद्यपि, कतिपय देशमा भने महामारी अन्त्य भइसकेको छैन । छिमेकी मुलुक भारतमा कोभिडको संक्रमण फेरि बढ्न थालेको छ । योसँगै कतै कोरोनाकाे चौथो लहर आउने त हाेइन भन्ने डर छ । विज्ञहरूले भारतमा चौथो लहर फैलनसक्ने चेतावनी दिएका छन् ।

डा. पुन भने अब आउने कोरोनाको लहर पहिलाको जस्तो घातक र भयावह नहुने बताउँछन् । ‘विदेशमा देखिइरहेको भनेको ओमिक्रोनको नै अर्को भेरियन्ट हो । जुन नेपालमा तेस्रो लहर हुँदा नै व्यापक देखिएको थियो,’ उनी भन्छन्, ‘स्वरुप परिवर्तन गरेको देख्दा, कोरोना त रहला । तर, त्यति जटिल समस्या देखिँदैन ।’

कोरोना संक्रमण कम हुँदै गए पनि मानसिक स्वास्थ्य जाँच गर्न आउनेको संख्या बढ्न थालेको देखिन्छ । मनोविद् करुणा कुँवरका अनुसार पोस्ट कोभिडको असरको रूपमा अहिले धेरैलाई मानसिक समस्या देखिएको छ । यद्यपि, लकडाउनको समयमा जस्तो चाप भने नरहेकाे उनले बताइन् ।

‘डिप्रेसन भएको, धेरै तनाव लिएर सन्तुलन नहुने, आफन्त गुमाएको शोकमा रहेकाहरू प्रायः मानसिक स्वास्थ जाँच गर्न आउनुहुन्छ । लकडाउनको जस्तो समस्या नदेखिए पनि कोभिडको धङ्धङी हटिसकेको छैन,’ उनले भनिन् ।

विशेषगरी लकडाउनमा मानसिक समस्या देखिएको थियो । अहिले यसमा केही कमी आउन थालेको कुँवरको भनाइ छ । अब बिस्तारै मानिसहरू खुल्न थालेकोले पनि पोस्ट कोभिडको समस्याबाट मुक्त हुने उनी बताउँछिन् । ‘अब मानिसहरू काममा फर्कन थालिसकेको देखिन्छ । हाम्रोमा पनि पहिलेको तुलानामा कम बिरामी आउँछन् । यसको मतलब हामी सामान्य जीवनतर्फ फर्किएका छौँ,’ उनले भनिन् ।

Leave a comment

Your email address will not be published.