मेलिना र सञ्जिवको प्रेम कथा : हराएको ६ वर्षपछि जब अकस्मात भेट भयो

गायिका मेलिना राईले शुक्रबार सामाजिक सञ्जालमा गिटारिस्ट सञ्जिव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । उनीहरूको अन्तरजातीय प्रेम सम्बन्ध विवाहमा परिणत हुँदैछ ।

मेलिना र सञ्जिवले साढे दुई वर्षअघि नै इङ्गेजमेन्ट गरिसकेका थिए । तर, २०७९ सालमा नयाँ वर्षको अवसर पारेर उनीहरूले दुईबीचको प्रेम सम्बन्ध खुलाए । यो प्रेमजोडीलाई धेरै शुभेच्छुकले खुसीसहित बधाई र शुभकामना प्रकट गरे । कतिपयले त मेलिनालाई ‘क्रान्तिकारी निर्णय’ भन्दै सम्मान व्यक्त गरिरहेका छन् ।माया र प्रशंसा मात्र हैन, यतिबेला मेलिनाले गाली पनि उतिकै व्यहोरिरहेकी छन् । अन्तरजातीय प्रेमलाई स्वीकार नगर्ने जमातले मेलिनामाथि नकारात्मक टिकाटिप्पणी गरिरहेका छन् ।

मेलिना भने पाँच वर्षको प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा खुसी छिन् । र नकारात्मक टिका टिप्पणीका कारण दुःखी पनि । यतिबेला उनले समाजको मनोविज्ञानलाई नजिकबाट नियालिरहेकी पनि छन् । ‘समाजमा जात व्यवस्थाले एकदमै नराम्रो असर पारिरहेको छ । आखिर मानिसलाई ठूलो र सानो भनेर त मानिसले नै बनाएको होइन र ! यो गलत इतिहास सुधार्ने जिम्मा पनि त हाम्रो हो नि !,’ मेलिना भन्छिन् ।

मेलिनाले आफ्ना सुन्दर प्रेम कहानी सम्झिएकी छन् । ‘सञ्जिवसँग कसरी भेट भएको थियो ?’ सम्बन्धका रोचक किस्सादेखि विवाहको निर्णयसम्मका कुरा मेलिना सुनाउँछिन्-

उहाँसँगको मेरो पहिलो भेट १२ वर्षअघि काठमाडौंको रातोपुलस्थित रक हाउस क्याफेमा भएको थियो । त्यतिबेला म प्ल टु पढ्दै थिएँ । र म सांगीतिक क्षेत्रमा संघर्ष गर्दै पनि । खासमा धेरै कुरा जान्न बाँकी थियो मैले । त्यो क्याफेमा एउटा सांगीतिक कार्यक्रम थियो । मैले जगदिस समाल दाइसँग युगल आवाजमा गीत गाउनुथियो । त्यतिबेला हाम्रो गिटारिस्ट हुनुहुन्थ्यो सञ्जिव जी । पहिलो भेट त्यही थियो । त्यो भेटमा हाम्रो एक अर्कामा हेराहेर भयो ।

त्यसअघि म कहिल्यै पनि कसैप्रति आकर्षित भएकी थिइनँ । तर, पहिलो भेटमै उहाँप्रति आकर्षित भएँछु । मलाई उहाँको आँखा निकै मनपर्थ्यो । तर, सानै थिएँ, प्रेम हो भनेर ठम्याउने उमेर थिएन । त्यही भेटपश्चात् सुरुमा उहाँसँग मेरो अलिअलि कुरा हुन थाल्यो । मलाई नानू भन्नुहुन्थ्यो, म दाइ भन्थेँ । मभन्दा उहाँ चार वर्ष जेठो हुनुहुन्थ्यो ।

त्यतिबेला मसँग आफ्नो मोबाइल थिएन । आन्टीले नोकियाको फोन बोक्नुहुन्थ्यो । आन्टीसँग फोन मागेर राति १ बजेसम्म सञ्जिव जीसँग बोल्थें । उहाँसँग बोलिरहन मन पराउँथेँ । बोल्दा खुसी हुन्थेँ । एकदिन उहाँले मलाई एउटा सो मा ‘आउनु है’ भनेर बोलाउनुभयो । म गएँ पनि । उहाँको प्रस्तुति निकै मन परेको थियो मलाई त्यतिबेला ।

खै कसरी हो, त्यसपछिका दिनमा अचानक हाम्रो कुरा हुन छाड्यो । म मेरो करिअरमा व्यस्त हुन थालेँ । उहाँ पनि गायव हुनुभयो । निकै वर्षसम्म हाम्रो भेट भएन ।

तर, एकदिन सरप्राइज भएँ । ६ वर्षपछि अचानक भेट भयो । त्यो भेट एउटा यस्तो संयोग थियो, हामी दुवै यो क्षेत्रमा स्थापित भइसकेका थियौं । काठमाडौंको एउटा स्टुडियोमा भएको थियो हाम्रो भेट । त्यतिबेला उहाँले दंग पर्दै मलाई भन्नुभयो, ‘ओहो मेलिना, तिमी कति बिजी हुन थालेको अचेल ।’ मैले पनि हाँस्दै जवाफ दिएँ, ‘म मात्र हैन, हजुर पनि कति बिजी हुनुभएको नि दाइ ।’

त्यसपछि पनि औपचारिकभन्दा बाहेक कुरा भएको थिएन । एक दिन मैले एउटा फिल्मको गीत सुनेँ । एरेन्ज अति नै मन पर्‍यो । एकजना साथीलाई सोधेँ, ‘यति राम्रो एरेन्ज कसले गर्नुभएको ?’

साथीले भन्नुभयो, ‘सञ्जिव बराइलीले ।’

म कति खुसी भएँ । उहाँसँग बोल्न आतुर थिएँ । साथीसँग उहाँको नम्बर मागेँ । त्यसपछि मैले कल गरेँ । म चाहन्थेँ, मेरो एउटा गीत सञ्जिव जीलाई एरेन्ज गराऊँ । व्यस्तताका कारण उहाँले त्यो गर्न पाउनु त भएन । तर, हाम्रो प्रेमिल संवादको सुरुवात भने त्यहीँबाट भयो ।

सन् २०१७ बाट हामी फेरि बोल्न थाल्यौं । मलाई उहाँको बानी व्यवहार एकदमै मनपर्थ्यो । हम्बलनेस, डाउन टु अर्थ । महिलालाई निकै सम्मान गर्ने । कुनै एउटा अन्तर्वार्तामा मैले भनेको पनि थिएँ, ‘म कि प्लेयरसँग विहे गर्छु, कि त गिटारिस्ट।’नभन्दै त्यस्तै भयो । हामी पाँच वर्ष अघिदेखि सम्बन्धमा थियौँ । त्यतिबेला उहाँले मलाई सम्बोधन गर्ने एउटा शब्द साह्रै मिठो लाग्थ्यो । मलाई ‘जिभी’ भनेर बोलाउनुहुन्थ्यो । ‘जिभी’ भनेको गोल्डेन भ्वाइस । मेरो आवाज निकै मनपराउनुहुन्थ्यो उहाँले । त्यसपछि प्रेम बढ्दै गयो, अनि बाबु भनेर बोलाउन थाल्नुभयो । मलाई उहाँले प्रेमले गरेको यी सम्बोधन मिठा लाग्छन् ।

विहे कहिले गर्ने, यसको निर्णयमा हामी पुगिसकेका थिएनौँ । मैले मेरा हरेक कुरा बहिनीलाई भन्थेँ । बहिनीमार्फत् बा आमालाई भन्न पनि सहज भयो । हाम्रो अन्तरजातीय प्रेम सम्बन्ध थियो । यसलाई विवाहमा परिणत गर्न कुनै अफ्ठ्यारो थिएन ।किनकि राई समुदायभित्र पनि मेरो परिवारले जातीय विभेदलाई कहिल्यै स्वीकार गर्नुभएन । उहाँहरू सबै मानिसलाई जातको आँखाले हैन, समानताको आँखाले हेर्नुहुन्थ्यो । उहाँहरूले हाम्रो सम्बन्ध सहजै स्वीकार गर्नुभयो ।

सञ्जिव जीको परिवारमा पनि कुनै कठिनाइ भएन । उहाँको ममी गुरुङ समुदायको हुनुहुन्थ्यो । बाबा ममीकै अन्तरजातीय विवाह भएको हुँदा हामीलाई स्वीकार खुसीसाथ गर्नुभयो ।

अब हामी इङ्गेजमेन्ट गर्ने निर्णयमा पुग्यौं । दुई वर्षअघि हामीले इङ्गेजमेन्ट गर्यौं पनि । तर, फोटो सार्वजनिक गरेनौँ । हामीलाई तत्काल फोटो सार्वजनिक गर्ने चाहना थिएन । सार्वजनिक गर्ने समय आउँछ भनेर पर्खियौँ । हाम्रो प्रतिवद्धता थियो- ०७९ सालमा फोटो सार्वजनिक गर्ने । हामी यही वर्ष विहे गर्दछौँ । मिति भने केही समयपछि तय हुनेछ ।

हिजो फोटो सार्वजनिक गरेपछि धेरैले बधाई दिनुभयो, शुभेच्छा प्रकट गर्नुभयो । हाम्रो निर्णयप्रति खुसी हुनुभयो । कलाकारिता क्षेत्रका धेरैले राम्रो प्रतिक्रिया दिनुभयो । त्यसले झन् खुसी बढाइदिएको छ । तर, राई समुदायमा भने आधाले मन पराउनुभयो, आधाले नराम्रा गाली गर्नुभयो । गालीले भने मन बिझाएको छ ।

मैले त कहिल्यै जात व्यवस्थालाई मानिनँ । मेरो लागि व्यवहार ठूलो कुरा थियो । कलाकारले जात व्यवस्था मान्नु गलत कुरा हो । मैले किन उहाँसँग जीवन बिताउने निर्णय लिएँ त ? कारण, मलाई उहाँका हरेक व्यवहार र काम मनपर्थे । मैले आफ्नो जीवन साथीको छनोट गरेको हुँ, जुन मेरो अधिकार हो ।

चित्त दुखाउने राई समुदायका दाजुभाइ, दिदीबहिनीप्रति मेरो भन्नु केही छैन । के माया गर्नु गलत हो र ? यदि नि:स्वार्थ माया गरेर मैले गल्ति गरेको भए माफी दिनुहोस् । नेपाली समाजमा जात व्यवस्थाले एकदमै नराम्रो असर पारिरहेको छ । आखिर मानिसलाई ठूलो र सानो भनेर त मानिसले नै बनाएको होइन र ! हाम्रा पुर्खाले जे गलत गरे, त्यसलाई सुधार्ने त हामीले नै हो नि ! मानिसलाई ठूलो सानो बनाउने इतिहास बन्नु नै गलत थियो । मानिस कोही पनि दुनियाँमा अमर रहँदैन । एक दिन मरेर जान्छ । आफ्नो समुदायलाई हाइहाइ गरेर अर्को समुदायमाथि विभेद गर्नु मानवताविपरीत होइन र ?

म किराँती चेली हुँ । मैले अन्तरजातीय विवाह गरे पनि मभित्र किराँत सभ्यता बास गरेको छ । मसँग किराँती संस्कृतिका राम्रा कुरा छन् । किराँतप्रति मेरो सदैव सम्मान रहन्छ । त्यो भन्दैमा मैले जात व्यवस्थालाई मलजल गर्ने होइन ।अरु जातलाई होच्याउनु मानवताविपरीत हो । यदि हामी किराँत भएर त्यस्तो गर्यौं भने हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्नेछ ।

मैले जीवनको यात्रामा जसलाई छनोट गरेको छु, असल व्यक्ति नै छानेको छु । र यसमा म खुसी छु ।

Leave a comment

Your email address will not be published.