परिवर्तनको निम्ति कम्तिमा दुई कार्यकालको आवश्यक हुन्छ–शिक्षित पराजुली, उपाध्यक्ष, एन्फा

नेपाली फुटबलको विकासको लागि विगत तीन दसकभन्दा बढीको समयदेखि कार्यरत उनको पहिलो रोजाई नै फुटबलको विकास बन्यो । गुट उपगुट भन्दा पनि सवै मिलेर फुटबलको विकास हुन्छ भन्ने मान्यता राख्ने उनी आगामी एन्फा निर्वाचनमा पनि सबै साथीभाईहरु होस्टेमा हैँसै गर्दै अगाडि बढ्नुपर्ने कुरालाई पहिलो प्राथमिकता राखेका छन् । फुटबलमा निभाएको यहि प्रभावकारी भूमिका कारण ‘न्यूट्रलम्यान’को संज्ञा पाएका एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीसंग वर्तमान एन्फाको अवस्था, आगामी निर्वाचन र फुटबलको सेरोफेरोमा रहेर मेरोखेल डटकमका सम्पादक बिभू श्रेष्ठले गरेको विशेष कुराकानीः


नेपाली फुटबलको वर्तमान परिस्थितिलाई कसरी लिनुभएको छ ?

– हरेक कोणबाट हेर्दा फुटबलमा लागेका सबैलाई सहि ट्रयाकमा नहिडेको र फुटबलमा लागेका ब्यक्तिहरुकै आआफ्नो चासो र स्वार्थमा चलिरहेको जस्तो देखिन्छ । ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न चाहनेहरु पनि छन् तर उनीहरुलाई पनि अन्योलमा राखेर काम गर्न नदिने माहोल खडा गरिएको छ ।
फुटबलको विकास गर्नुपर्छ भन्दै घाँटी जोडिएका व्यक्तिहरुले जुन किसिमले एन्फालाई हाँक्नुपर्थ्यो त्यस्तो देखिएन । मिलेर काम गर्ने आधार हुँदाहुँदै पनि किन दुई धार विभाजन हुनुपर्याे ? तपाईको विचारमा नेपाली फुटबललाई अघि बढाउन सक्षम देखिएको कुन धार हो त ?

– अब दुई धारमध्ये पनि अहिलेको सत्ता पक्ष भनौ न नेतृत्व गर्ने धारले गरेको क्रियाकलापहरुमा सल्लाह गरेर अघि बढ्नुपर्नेमा अर्काे पक्षले सल्लाह नगरि आफ्नै ढंगले विरोध मात्र गर्ने तर त्यसको समाधानतर्फ नलागेकै कारण अहिलेको यो अवस्था आएको हो भन्ने मलाई लाग्छ । यति भनिरहँदा कर्मा छिरिङ्गको पक्षले गरेको सबै काम राम्रो र अर्काे पक्षले कामै गर्न नखोजेको भन्न खोजेको चाहिँ होइन । तर नेतृत्व भनेर स्वीकार गरेर आइसकेपछि सहयोग गर्नुपर्नेमा सोचेको अनुरुपको सहयोग नभएको चाहिँ हो । त्यसैले यो धार त्यो धार भन्नुभन्दा पनि जुन कमिकमजोरी यो चार वर्षमा भयो, त्यसलाई संशोधन गर्दै अघि बढ्ने बाटो छ । बिरोधका लागि बिरोध र अन्यथा हल्ला मच्चाउने कामलाई रोक्दै अघि बढेदेखि म त अहिले पनि नेपाली फुटबल विकास नै गर्ने सोच भएका साथीहरु हौं, मिलेर अघि बढौ भन्छु ।

तपाई एन्फामा मनोनित उपाध्यक्ष भइसकेपछि तपाइ कर्मा छिरिङ्गको सल्लाहकारको रुपमा देखा पर्नुभयो अरे, तपाईकै सल्लाहका कारण अहिलेको दुई धारमा झनै तिक्तता बढेको हो भनेर आरोप लगाउने गरेको पाइन्छ । यसमा तपाईको भनाई के छ ?

आरोप त हरेक ठाउँबाट आफु सही नहुँदा र ब्यक्तिगत स्वार्थपूर्ति भएन भने ब्यक्तिहरुलाई आरोप लगाउने र तल देखाउने काम त भइ नै रहेको हो नि । त्यो आरोपलाई खण्डन गर्न सक्ने हैसियत भएकाहरुको कुरा नसुन्ने र बुझ्नै नखोज्ने मनसाय नै बोकेपछि यस्तो आरोप प्रत्यारोप त जीवन अवधिमा कति आउँछ आउँछ नि । तर स्वयं आरोप लगाउनेहरु जो जो हुनुहुन्छ, उहाँहरु आफैले म..म.. गर्दै कसौटीमा उभिदा सबै कुरा घाम जस्तै छर्लङ्ग भइहाल्छ नि । त्यसैले म त के भन्छु भने शिक्षित पराजुलीलाई आरोप लगाएर नेपाली फुटबलको विकास हुन्छ त ? एन्फा यही छ, उहाँहरु पनि यही हुनुहुन्छ, शिक्षित पराजुलीले एन्फामा बसेर के छ बिगारेको ? कार्य अथवा म ब्यक्तिगत लाभका लागि भोगि भएको देख्नु भएको छ भने प्रमाणसहित आरोप लगाउनुहोस्, म आफै बोल्ने ठाउँ नै रहँदैन नि । त्यसैले बिभु जी, यस्ता विषयमा समय खेर फाल्नुभन्दा मेरो सल्लाह छ, उहाँ साथीहरुलाई सही ट्रयाक पत्ता लगाएर हिडेमा अहिले पनि मिलेर अघि बढौं, केही गरौ भन्छु । यस्तै लहैलहैका कारण आजको दिनसम्म पनि फुटबल विकास नभएको हो भन्ने मेरो विश्लेषण छ ।

तपाईलाई नेपाली फुटबलमा न्युट्रल ब्यक्ति भनेर भन्दिनु पर्ने हो र ? तपाई देखिनेगरि कर्मा छिरिङ्ग शेर्पाको पक्षमा नै हुनुहुन्छ नि । कि अर्काे समुहले पनि चुनावको माहोल छ आईदिनु पर्याे भनेर डाँकेका छन् ?

– होइन, अब पहिला सबै एउटै साथीहरु हो । अहिले मनमुटाव संगै आआफ्नै ट्रयाक छ । त्यसैले आफुले नराम्रो गरेपनि राम्रै गरिरहेको छु भन्ने फिलिङ्ग हुन्छ होला । पंकज भाइ नै हो मेरो, उहाँहरुले पनि निस्वार्थ भावना बोकेका ब्यक्तिहरुको हामीलाई खाँचो छ, आइदिनु पर्यो, मिलेर सँगै हिडौं भनेर बोलाउनु त स्वभाविक नै हो जस्तो लाग्छ मलाई । तर मैले उहाँहरुसँग आफ्नो कुरा स्पष्ट राखिसकेको छु ।

के सर्तमा तपाईलाई मिलेर अघि बढौं भन्नुभयो त ? अवश्य पनि पदको लोभ त देखाएका होलान नी ?

– त्यस्तो कुनै विषयमा कुरा अघि बढ्ने माहोल नै निर्माण हुनै दिएन मैले । उहाँहरुले मिलेर अघि बढौं तपाई जस्तो निस्वार्थ भावना भएको ब्यक्ति यता आएर काम गर्न सजिलो हुन्छ, फुटबल विकासका लागि सँगै अघि बढौं भन्ने नै उहाँहरुको कुरा थियो । त्योभन्दा माथि उठेर कुरा गर्नु अघि नै मैले मेरो कुरा स्पष्ट राखिसकेपछि उहाँहरुले मसँग थप कुरा राख्ने मौका नै पाउनु भएन । तपाईले एन्फाको कुन पदमा बस्ने शर्त भन्नुभएको होला । हो कसैसँग मिलेर अघि बढेर काम गर्नका लागि पदमा बसेर नै काम हुन सक्छ । तर ढाट्न हुन्न उहाँहरुले यो पद त्यो पद भन्ने कुरा उठाउने मौका नै पाउनु भएन ।

प्रसङ्ग फेरौ । शिक्षित जी बाहिर अनेकन कुराहरु सुनिन्छ । त्यसमा कति सही हुन्छ, कति गलत । तपाइ आफैले इमान्दार भएर भन्नुपर्दा यो चारवर्षको कार्यकाल कस्तो रह्यो ?

– मैले भन्नुपर्दा यतिबेला विगतमा भएका कामसँग तुलना गरेर विश्लेषण गर्नुपर्ने हुन्छ । म आफै पनि नेपाली फुटबलमा क्लबमार्फत लागेको आज ३०–३२ वर्ष भइसकेको छ । जुन विगतमा एक किसिमको तानाशाही थियो, मान्छेहरु प्रति गर्ने ब्यवहार, फुटबलमा लागेकाहरुलाई गर्ने ब्यवहार, क्लबहरुलाई गर्ने ब्यवहार थियो, त्यो तपाई आफैले पनि देख्न सक्नुहुन्छ, ड्रास्टिक चेन्जहरु आएको छ । कुनै पनि कुराहरु विकेन्द्रिकरण थिएन, कसैले पनि बोल्न अनुमति लिनुपथ्र्याे, अहिले जुन मान्छेले पनि जतिसुकै बेला आफ्नो कुरा स्वस्फूर्त राख्न बोल्न पाएका छन् ।

त्यसपछि चार वर्षको अवधिमा दुई वर्ष कोभिडले खायो । र पनि, फुटबल विकासमा गर्नुपर्ने कामहरु पहिलेको नेतृत्वले भन्दा अहिलेको नेतृत्वले धेरै गरेको छ भन्ने मलाई लाग्छ । यो भनिरहँदा एकदमै उत्कृष्ट काम गर्याे भन्ने पनि होइन र गर्नपर्ने पाटो र पक्ष धेरै छन् र एकैरातमा कायापलट हुन्छ भन्ने पनि होइन । समय दिउँ, काम गर्ने वातावरण दिउँ, अहिलेको ब्यक्ति जो नेतृत्वमा हुनुहुन्छ, उहाँ गर्न सक्ने र गर्न खोज्ने निस्वार्थ नै हुनुहुन्छ । त्यो तपाईले भन्नुभएको अर्काे धारका ब्यक्तिहरुलाई पनि सोध्नुभयो भने चुनाव नजिक छ मुखले नभन्नु होला तर मनमा गर्न सक्ने ब्यक्ति हो भनेर मनन गर्नु भएकै छ, भन्ने मलाई महसुस हुन्छ ।

त्यसो भए एन्फामा नेतृत्व परिवर्तनको आवश्कता देख्नु हुन्छ कि हुन्न ?

– नेतृत्व भनेको हेर्नुस् कुनै पनि क्षेत्रमा उसको काम हेर्न समय लाग्छ र समय दिनुपर्छ । आजको भोलि चमत्कारिक परिवर्तनको विज्ञान कहिँ कतै हुन्न । त्यसैले कि त हामीले यसअघि नेतृत्व चयन गर्दा नै एक कार्यकाल भन्ने ब्यवस्था राख्नुपथ्र्याे । हाम्रो विधानमै र राखेपको विधानमै पनि दुई कार्यकालभन्दा माथिको ब्यवस्था छैन । यो भन्दाअघिको नेतृत्वले चार कार्यकाल पाँच कार्यकाल जति पनि खानुभयो । अहिले त स्पष्ट तोकिएको छ एउटा ब्यक्ति दुई कार्यकाल पदमा बस्न पाउँछ भनेर ।
परिवर्तनको निम्ति कम्तिमा दुई कार्यकालको आवश्यक हुन्छ नै । त्यसैले मेरो ब्यक्तिगत विचारमा अहिलेको नेतृत्वलाई अब एउटा कार्यकाल दिनैपर्छ । त्यसलाई हामीले सघाउनु पर्छ र अपूर्ण कामहरुलाई पूर्णता दिने र नयाँ कामहरुलाई नयाँ शिराबाट अघि बढ्ने, फुटबलमा भविष्य खोजेकाहरुलाई ब्यावसायिक रुपमा कसरी सस्टेनेबल गर्न सकिन्छ, त्यो योजना बनाउने कामहरु गर्नुपर्छ । एनएसएलमार्फत निजि क्षेत्रको आकर्षण बढेको छ र अझै निजि क्षेत्रहरुलाई मिल्छ भने एन्फामा ल्याएर सँगै अघि बढाउने योजना बनाएर फुटबललाई सस्टेनेबल बनाउनेतर्फ लाग्नुको विकल्प नै छैन ।

भनेपछि तपाईको कित्ता प्रष्ट छ ?

– जुनसुकै काम गर्दा मेल हुन्छ, बेमेल हुन्छ, त्यो त प्राकृतिक नियम नै हो नि । अन्तत्वगत्वा मिलेरै अघि बढ्नुपर्छ भन्नेलाई परिवर्तन गर्नै सकिन्न नि । एउटै उद्देश्य र एउटै लक्ष्य हो भने त कतै न कतै गएर मिलन बिन्दु पाइहालिन्छ नि । होइन ब्यक्तिगत स्वार्थ पुरा नहुने देखेपछि उफ्रिने पाफ्रिने बाहेक अरु केही एजेण्डा नै नहुँदा त नेपाली फुटबलको विकास त हुँदै हुन्न नि । जसले राम्रो गर्छ, जसले गरिरहेको छ, त्यो त उफ्रिने समूहभन्दा बाहेकका अन्यले त बुझेकै छन् र काम गर्नेको नै जित हुन्छ नि ।

भनेपछि कर्मा छिरिङ्ग शेर्पा इतर बिरोध गरिरहेका समूह स्वार्थ समूह नै हुन् त ?

– सबैलाई त भन्न मिल्दैन । धेरै ब्यक्तिहरु प्रलोभित छन् र आफ्नो स्वार्थपूर्तिकै बारेमा मात्र साचेर हिड्नेको संख्या पनि छ । ति स्वार्थपूर्ति गर्नका लागि नेतृत्व परिवर्तन हुँदा सजिलो हुन्छ भन्ने सोच पालेर बिरोधमा उत्रिनु भएकाहरु पनि हुनुहुन्छ । त्यस्तो सोच हो भने त्यो स्वार्थ कहिल्यै पनि पुरा हुन्न । फुटबलको विकास गर्न स्वार्थभन्दा माथि उठेर आउनुभयो भने एन्फामा स्थान मिल्छ, होइन भने कसिङ्गर जस्तै बढार्नु नपर्ने गरी बाहिरिनु हुन्छ ।

तपाई यसो भन्नु हुन्छ । उता उहाँहरु तपाईहरुले यो चार वर्षमा गरेको उपलब्धिका कार्यहरु फगत भ्रमको प्रचार मात्र हो, काम केही भएको छैन भन्दै हिडिरहनु भएको छ नि ?

– त्यो चाँहि उहाँहरुले पाल्नु भएको भ्रम मात्रै हो, आरोप लगाउने कुनै वाहाना नभएर आरोप मात्रै लगाएको हो । एउटै संगठनमा बसेर भएका कामहरु भएको हो भनेर हिड्नु उहाँहरुको पनि कर्तव्य हो । ठिकै छ नभएका कामहरु भएको भनेर प्रचार गरिएको छ भने त्यो भ्रामक हुन्छ । र, त्यस्तो गरिएको छ भने सबैभन्दा शुरुमा विरोध गर्ने पात्र म हुने थिए । तर गरिएको काम पनि होइन, गरेकै छैन भनेर हिड्नु त ठिक होइन नि ।
कति काम गर्न सकिन्थ्यो, कति गर्न सकिएन भनेर डिबेट चलाउनु भयो भने त्यहाँ आत्मसात गर्न सकिन्छ । हो सोचे अनुरुपको काम गर्न सकिएको छैन भनेर त मैले अघि नै भनि सकेको छु । अब कतिपय काम उहाँहरुको बिरोधका कारण कार्यान्वयन गर्न नसकिएको हो भन्ने पनि उहाँहरुलाई नै थाहा छ । भर्खरका १७–१८ वर्षको केटाहरु राष्ट्रिय टोलीमा परेर खेल्न पाएका छन् । विगतमा सेट टिम हुन्थ्यो, उसैले मात्र राष्ट्रिय टोलिमा स्थान पाउँथे । जिल्ला जिल्लामा फुटबलको माहोल बनेको छ कि छैन ? मिडियाले पनि आफै अध्ययन गर्दा भइहाल्यो नि ।

तपाईहरुको कार्यकालको शुरुवातमा थ्रीस्टार काण्ड, एनएसएल विवाद र केही क्लबहरुको प्रतिनिधि चयनमा देखिएको विवाद अहिलेसम्म साम्य नुहुनुमा कसरी यो नेतृत्व सक्षम भन्न मिल्ला र ?

– यस्तो हुन्छ बिभु जी । पहिलेबाटै चल्दै आएको चलन के हो भने विकास हुन्छ तर विकास हुनुभन्दा अघि बसेर मुल्याकंन गर्दा मलाई यति भए पुग्छ भन्ने सोच हुन्छ तर त्यो भन्दा पनि अलि ठूलो र चाँडो अवसर पाउन थालेपछि र समय क्रमसँगै त्यसपछि अलि बढी पाउँदा मलाई अँझै यति पुगेन भन्नेमा पुगिन्छ । यो त मान्छेको सोच हो र स्वभाविक हो । क्लबहरु सन्तुष्ट छैन् भन्ने कुरामा पहिलाको नेतृत्वको पालोमा थ्रीस्टार एएफसी कप खेल्न नपाउँदा अहिले हामी आएपछि क्षतिपूर्ति स्वरुप डेढ करोड पाउनु भएको होइन र ? थ्री स्टारले पनि लगानी आफ्नो ठाउँमा गरेको होला । क्लबहरुले लिग खेल्दा तयारी स्वरुप पाउने ५ लाखबाट शुरु भएको रकम आज आएर २५ लाख पुगेको छ ।
हरेक नगरपालिकाले आफ्नो दक्षता अनुसार क्लबहरुलाई सहयोग गराउने शिलशिला पनि यही नेतृत्वको पालोबाट शुरु भएको हो । त्यसैले आर्थिक रुपमा पनि यही नेतृत्वको पालोबाट सहयोग गर्ने र गराउने काम शुरु भएको हो । अब एनएसएलको विषयमा कुनै क्लबहरु रिसाउनुको कारण फुटबल बिग्रन लाग्यो भनेर होइन । जुन फुटबल लिग शुरु हुन लागेको मिति सार्नुपर्याे भन्ने मात्रै थियो । खेलाडीहरु एनएसएल केन्द्रित भयो र खेल्नमा ध्यान दिएन भन्ने केही क्लबहरुको भावनाका कारण विवाद जस्तो देखिएको हो । उहाँहरुको भावना पनि नराम्रो होइन तर सबै कुरा मिलाएर अघि बढ्ने प्रयास हुँदा समझदारी बनेकै थियो नि ।

अहिले हामीले दुई धारको कुरा गरिरहँदा तेश्रो धारको कुरा पनि आइसक्यो नि । विज्ञानराज शर्माको रुपमा अर्काे धार खुला रुपमा नआएपनि कतै कतै गाइगुइ सुनिदैछ नि ? यो उहाँको रणनिति हो कि बार्गेनिङ्ग हो ?

– यो तेश्रो धार भनेको त सिधा कुरा छ बार्गनिङ्ग नै हो । तर मलाई लाग्दैन तपाईले भनेको जस्तो विज्ञान जी तेश्रो धार हुन् । हो उहाँले एउटा बैठकमा सबै मिलेर सर्वसमति गर्नुहुन्छ भने म एन्फाको नेतृत्व सम्हाल्न तयार छु भन्नुभएको हो । त्यो परिप्रेक्ष्य अर्काे थियो अहिले माहोल र स्थिति अर्कै छ ।

मानौं विज्ञानराज शर्मा र कर्माछिरिङ्ग शेर्पा निर्वाचनको मैदानमा देखिनु भयो भने तपाईको रोजाइ को हुनेछन् ?

– यो त सामान्य कुरा छ नि । म त शर्मा जी भन्दा शेर्पा जीकै पक्षमा हुनेछु नि । उहाँसँग अहिले यस्तो बारेमा कुनै कुरा भएको पनि छैन र उहाँ अध्यक्षको आकांक्षी भएर आउने कुरा पनि छैन । तर ५ वर्षअघि अहिलेको कार्यसमिति चयनअघि उहाँले मलाई क्षितिज म अध्यक्ष भएर आए भने के होला भनेर छलफल चाँहि गर्नु भएको थियो । मैले उहाँलाई तपाई जस्तो ब्यक्ति अहिले नेतृत्वमा आउने वातावरण बन्न दिन्नन् त्यसैले उहाँ पछि हट्नु भएको थियो ।

Leave a comment

Your email address will not be published.